पोखरा एक्सप्रेस ,काठमाडौं।
वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले आजदेखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनबीच सीधा उडान सेवा सुरु गरेको छ। हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सेन्जेनस्थित सेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सीधा उडान सेवा सुरु गरेको हो।

कम्पनीका अनुसार काठमाडौँ–सेन्जेन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ४ मा नेपाली स्थानीय समयअनुसार राती ९ः५९ बजे ९८ यात्रुसहित प्रस्थान गरेको छ। जुन ५ मा उक्त उडान चीनको स्थानीय समयअनुसार बिहान ०४ः१७ बजे सेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। त्यसैगरी, सेन्जेन–काठमाडौँ उडानले सेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ५ माा चिनियाँ स्थानीय समयअनुसार बिहान ०६ः१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार बिहान ०८ः२६ मा काठमाडौं अवतरण गरेको छ। काठमाडौँबाट सेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने सेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ।
यो नयाँ सेवा सुरु भएसँगै यात्रु पहुँच वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास कम्पनीको छ।
तपाईको प्रतिक्रिया