पोखरा एक्सप्रेस ,काठमाडौं।
लोकप्रिय न्यूज च्यानल ‘न्यूज २४’को प्रवर्द्धक कम्पनी नेपाल ब्रोड कास्टिङ च्यानल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि इस्युआर रेटिङ गराएको हो।
तर, आईपीओको तयारी गरिरहँदा कम्पनीको वित्तीय अवस्था भने निकै जर्जर देखिएको छ। आम्दानीमा आएको गिरावट, नउठ्ने उधारोको चाप र बैंक ऋणको उच्च भारका कारण क्रेडिट रेटिङ एजेन्सीले कम्पनीको साख (रेटिङ)मा कटौती गर्दै लगानी जोखिम हुने संकेत गरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको इस्युअर रेटिङलाई ‘डबल ‘बी माइनस’बाट घटाएर ‘बी प्लस’ कायम गरेको छ। यो रेटिङ पाउनुको अर्थ कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा ‘उच्च जोखिम’ हुनु र कुनै पनि बेला ‘डिफल्ट’ (टाट पल्टिने) अवस्थामा पुग्न सक्नु हो।
रिपोर्टका अनुसार कम्पनीले थप व्यावसायिक विस्तारका लागि पुँजी जुटाउन आईपीओको बाटो रोजेको हो। विशेष गरी विज्ञापन बजारमा आएको मन्दी र बढ्दो सञ्चालन खर्चलाई व्यवस्थापन गर्न कम्पनीलाई थप पुँजीको आवश्यकता परेको देखिन्छ।
तपाईको प्रतिक्रिया