महिला पर्यटन व्यवसायी (वोटेफ) द्धारा महिला स्वास्थ्य सचेतना कार्यक्रम
- Pokhara Express
- २०८३ जेठ १७ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले ८ औ राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर महिला सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा महिला स्वास्थ्य, अधिकार र सशक्तीकरणका विषयमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महिलाको स्वास्थ्य र अधिकार सुनिश्चित नभएसम्म समावेशी विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा आबद्ध महिलाको स्वास्थ्य, सुरक्षा र कार्यस्थलमैत्री वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कोपिला नेपालकी प्रमुख विना सिलवालले महिला अधिकारको सुनिश्चिततासँगै स्वास्थ्यसम्बन्धी जानकारी र सेवामा पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत बन्न आग्रह गर्नुभयो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महिला स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।
मञ्चका सल्लाहकार दुर्गा ढकालले महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । हरेक महिला आफ्नो स्वास्थ्य प्रति सजक र सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सेवा हस्पिटलकी मेडिकल निर्देशक, स्त्रीरोग एवं बाँझोपन विशेषज्ञ डा. सरिता गुरुङले महिलाको प्रजनन स्वास्थ्य, पाठेघरको स्वास्थ्य, स्तन क्यान्सरको प्रारम्भिक पहिचान, मानसिक स्वास्थ्य तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना जिज्ञासा राख्दै विशेषज्ञसँग अन्तरक्रिया गरेका थिए ।
मञ्चकी संस्थापक अध्यक्ष जमुना पराजुलीले महिला अधिकारको वास्तविक प्रत्याभूति महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणमार्फत मात्र सम्भव हुने बताउनुभयो । कार्यक्रम संयोजक सुशीला भण्डारीका अनुसार महिला स्वास्थ्य, सचेतना र सामाजिक सशक्तीकरणलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । भण्डारीका अनुसार कार्यक्रममा मञ्च सदस्य सहित पर्यटन व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
मञ्चकी अध्यक्ष ममता न्यौपानेले महिला पर्यटन व्यवसायी मञ्चले विगतदेखि नै महिला उद्यमशीलता, पर्यटन विकास र महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै पछिल्लो समय महिलाको स्वास्थ्यलाई प्राथमिकता राखी कार्यक्रम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन महासचिव भावना रानाभाटले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया