एमजी मोटरको नेपालमा डिलरशिप खुल्यो, कमेट इभी १८ लाख ७५ हजारमा उपलब्ध
- Pokhara Express
- २०८३ जेठ १ शुक्रबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
जेएसडब्लु एमजी मोटर इण्डियाले गोल्छा अर्गनाइजेशनसँग रणनीतिक वितरण साझेदारी गर्दै काठमाडौंको थापाथलीमा आधिकारिक डिलरशिप सञ्चालनमा ल्याएको छ। शोरुम उद्घाटनसँगै कम्पनीले एमजी कमेट इभी रु. १८ लाख ७५ हजार र एमजी विण्डसर इभी रु. ३९ लाख ७५ हजारको प्रारम्भिक मूल्यमा बिक्रीका लागि उपलब्ध गराएको छ। यो मूल्य सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
नयाँ शोरुममा एमजी कमेट र एमजी विण्डसरसहित कम्पनीका प्रमुख मोडलहरू प्रदर्शनमा राखिएका छन्। कम्प्याक्ट शहरी इलेक्ट्रिक सवारीदेखि प्रिमियम एसयूभीसम्मका विकल्पहरू एकै छतमुनि उपलब्ध गराउनु यस डिलरशिपको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ। ग्राहकहरूले आफ्नो आवश्यकता र बजेट अनुसार उपयुक्त सवारी छनोट गर्न सक्ने वातावरण तयार गरिएको कम्पनीले दाबी गरेको छ।
डिलर प्रिन्सिपल आकाश गोल्छाले यो साझेदारीलाई नेपाली बजारका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले भने, “जेएसडब्लु एमजी मोटर इण्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको छ।” उनले थपे, “प्रविधि, डिजाइन र दिगोपनको संयोजन रहेको एमजीको पोर्टफोलियो नेपाली ग्राहकहरूको चाहना र आकांक्षासँग राम्रोसँग मेल खान्छ। नेपाली बजारमा एमजी ब्राण्डको बलियो र दीर्घकालीन उपस्थिति निर्माण गर्नु हाम्रो लक्ष्य हो।”
यस साझेदारीमार्फत एमजीले बिक्रीपछिको सेवा र देशव्यापी सञ्जाल विस्तारमा विशेष जोड दिने जनाएको छ। ग्राहकहरूलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्न बलियो स्थानीय उपस्थिति र प्रभावकारी ग्राहक सहयोग विकास गरिने कम्पनीको योजना छ।
नेपालमा इलेक्ट्रिक सवारीप्रतिको माग तीव्र गतिमा बढ्दै गएको सन्दर्भमा एमजीले यो बजारलाई रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानेको छ। स्मार्ट तथा दिगो गतिशीलता समाधानप्रति नेपाली उपभोक्ताको चासो र ग्राहक अपेक्षामा आएको सकारात्मक परिवर्तनलाई कम्पनीले अवसरका रूपमा लिएको छ। नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनलाई एकसाथ अगाडि बढाउँदै एमजीले नेपालको गतिशीलता भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।
सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा. लि. नेपालको अटोमोबाइल क्षेत्रमा दशकौंदेखि सक्रिय छ। देशव्यापी बलियो सञ्जाल र नेपाली बजारप्रतिको गहिरो बुझाइका आधारमा कम्पनीले विश्वविश्वसनीय अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै आएको छ।
अर्कातिर, एमजी सन् १९२४ मा बेलायतमा स्थापना भएको ऐतिहासिक ब्राण्ड हो। आफ्नो स्पोर्ट्स कार, रोडस्टर र क्याब्रियोलेट सिरिजका कारण विश्वभर परिचित यो ब्राण्डका गाडीहरू बेलायती प्रधानमन्त्रीदेखि शाही परिवारसम्मका व्यक्तिहरूमाझ लोकप्रिय रहँदै आएका छन्। विगत सय वर्षमा एमजी आधुनिक, भविष्यमुखी र नवप्रवर्तनशील ब्राण्डका रूपमा विकसित भएको छ। हाल भारतको गुजरातस्थित हलोलमा रहेको अत्याधुनिक उत्पादन केन्द्रमा वार्षिक एक लाखभन्दा बढी सवारीसाधन उत्पादन गर्ने क्षमता रहेको छ भने ६ हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको एमजी ग्लोबल फर्चुन ५०० कम्पनी एसएआईसी मोटर र भारतको अग्रणी व्यावसायिक समूह जेएसडब्लु ग्रुपको संयुक्त साझेदारीमा सञ्चालित छ।
तपाईको प्रतिक्रिया