काठमाडौँ। भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।प्रहरीका अनुसार मध्यप्रदेशको सिओनी जिल्लामा तीनतले घरमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।त्यस्तै, मध्यप्रदेशकै कटनी जिल्लामा बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । आगलागीको कारण खुलेको छैन ।
महाराष्ट्रको धाराशिव जिल्लामा भएको तेस्रो घटनामा पनि एउटै परिवारका छ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका बेला आगो फैलिएपछि निस्किएको धुवाँका कारण अक्सिजनको कमी भई उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।तीनवटै घटना आइतबार मनाइएको दीपावली पर्वका क्रममा भएका हुन् ।
तपाईको प्रतिक्रिया