पोखरा एक्सप्रेस ,काठमाडौं।
वणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठमा ४.३४३ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशत पुगेको छ।
जेठका लागि १२ वटा बैंकको ब्याजदर स्थिर छ भने पाँचवटाले घटाएका छन्। ब्याजदर घटाउनेमा एनआईसी एसिया, हिमालयन र नेपाल बैंक रहेका छन्। यी बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन्। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन्।
ब्याजदर बढाउनेमा सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत मुद्दती निक्षेपको अधिकतम दर ०.५ प्रतिशत रहेकाे छ।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकले ४.८० प्रतिशत कायम गरेको छ। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत तथा नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत ब्याजदर राखेका छन्। संस्थागत निक्षेपतर्फ भने एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा सानिमा बैंकले वैशाखकै ब्याजदरलाई जेठमा पनि यथावत् राखेका छन्।
तपाईको प्रतिक्रिया