टान गण्डकीद्धारा ‘भ्यू फेवा, राउण्ड फेवा’ मा योग ध्यान
- Pokhara Express
- २०८३ बैशाख ३ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा।
“आरोग्य जीवनको आधार, पदयात्रा, प्रकृति र सकारात्मक विचार” भन्ने सन्देश सहित पोखरामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ । पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको सहआयोजनामा ‘भ्यू फेवा, राउण्ड फेवा’ पदमार्गमा हाईकिङ सहित फेवा किनारको मेवाखोलामा सामुहिक योग ध्यान गरेर मनाइएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले योगले शारीरिक तथा मानसिक सन्तुलन कायम गरी जीवनलाई स्वस्थ, स्फूर्त र तनावरहित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि योगजस्ता अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै हरेक नागरिकले दैनिक जीवनमा योगलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष हिमलाल बरालले पर्यटन प्रवद्धनसँगै नयाँ गन्तव्यहरुको पहिचान र संरक्षण गर्न वडा लागि परेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारापहारीले पोखरालाई प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक सम्पदाले भरिपूर्ण पोखराले योग तथा ध्यानजस्ता अभ्यासका माध्यमबाट आन्तरिक र बाहय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, यस्ता गतिविधिले दिगो पर्यटन विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले नेपालको सभ्यता, संस्कृति र परम्परा आफैँमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूको निरन्तरताले आरोग्य पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस्ता गतिविधिले मानव जीवनलाई प्रकृतिसँग जोड्दै आत्मिक शान्ति र सन्तुलनतर्फ उन्मुख गराउने बताउनुभयो ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ओझेलमा परेका पदमार्गहरूको प्रभावकारी प्रचारप्रसारसँगै वेलनेस पर्यटन प्रवद्र्धनमा टान सक्रिय रूपमा लागिरहेको बताउनुभयो । उहाँले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्ने उद्देश्यका साथ ‘वेलनेस डे’ मनाइएको उल्लेख गर्दै वेलनेस पर्यटनको दिगो विकासका लागि स्पष्ट नीति, स्थानीय समुदायको सक्रिय साझेदारी र पूर्वाधार विकास अपरिहार्य रहेको औँल्याउनुभयो । साथै, फेवा किनारस्थित भ्यू फेवा र राउण्ड फेवा पदमार्गको उचित प्रवद्र्धन गर्न सके नेपालमा आरोग्य पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन सम्बद्धसंघसस्थाा प्रतिनिधि, पत्रकार एवम विभिन्न क्षेत्रका १०० वढी सहभागिहरुलाई योग गुरु स्वामी आनन्दले योगध्यान गराउन भएको थियो । सो अवसरमा फेवा फेरोमा सरसफाइ समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया