पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड—आरएसआरएसडीको आर्थिक सहयोग तथा बुद्ध विशालबजार व्यापारिक एसोसियसनसँगको सहकार्यमा बुद्ध विशाल बजारका व्यवसायीहरुलाई एकदिने भ्याट तथा करसम्बन्धी तालिम दिएको छ । तालिममा बुद्ध विशाल बजार तथा पोखराका विभिन्न क्षेत्रमा रहेका करिब ६० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले राज्यले करको नाममा कसैलाई नतर्साउने तर व्यवसायीहरुले पनि आफ्नो दायित्व के हो भन्ने बुझ्नुपर्ने बताए । अहिलेको नेपालको कर प्रणाली स्वघोषणामा आधारित भएको बताउँदै उनले आफूले तिर्नुपर्ने कर समयमा बुझाउन तथा उपभोक्तासँग उठाइएको भ्याट समयमा नै आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्न व्यवसायीसँग आग्रह गरे । आन्तरिक राजश्व कार्यालयले करिब ८५ प्रतिशत करसम्बन्धी कार्य कागजविहीन अवस्थामै संचालन गरेको बताउँदै उनले सूचना प्रविधिको प्रयोग गर्न र कर सहयोगीसँग भर नपर्न पनि व्यवसायीलाई अनुरोध गरे ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुले आफ्नो खातापाता चुस्त र दुरुस्त राख्दा थप जरिवानाको मारमा नपरिने भएकाले त्यसप्रति सचेत हुन आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एसोसियनसका मानार्थ सदस्य केशवबहादुर खत्रीले व्यापार व्यवसाय संकुचनमा किन परेको भन्नेबारे राज्य गम्भीर बन्नुपर्ने बताए ।
तालिममा सहभागीहरुलाई सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए । संघकी कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार यस्ता तालिमहरु आवश्यकता अनुसार अन्य क्षेत्रका व्यवसायीहरुलाई पनि प्रदान गर्ने पोखरा उद्योग वाणिज्य संघको कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया