पोखरा एक्सप्रेस , काठमाडौँ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । साथै, ८८ वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।
निर्वाचन आउन ४६ दिन बाँकी रहँदा आयोगले प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) को निर्वाचन प्रणालीका लागि देशभर कार्यालय खडा गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले आइतबार राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलमा सहभागी दलहरूले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
दलका प्रतिनिधिहरूले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचारसंहितालगायतका कानुन इमानदारिताका साथ पालना गर्ने प्रतिबद्धता जनाए । उनीहरूले आयोग, आचारसंहिता अनुगमन समिति र निर्वाचन अधिकृतले बोलाएको बखत उपस्थित हुने बताएका छन् ।
तपाईको प्रतिक्रिया