मिस तामाङ पोखरा–२०२६ को तयारी पूरा, शनिबार ग्राण्ड फिनाले
- Pokhara Express
- २०८२ माघ २ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन्।
व्यवसाय व्यवस्थापन अध्ययनरत सोममाया मोक्तान तामाङ उद्यमशीलता र महिला आत्मनिर्भरतामा केन्द्रित सोच बोकेकी छिन्। सलिना स्याङ्तान तामाङ कला र चित्रकलामार्फत तामाङ संस्कृतिको प्रवद्र्धन गर्न चाहन्छिन्। गीत–संगीतप्रेमी सुप्रिया गोले तामाङ मौलिक तामाङ गीतलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यमा छन्। सबैभन्दा कम उमेरकी प्रतियोगी खुसी मोक्तान तामाङ लोकनृत्यप्रति समर्पित रहँदै सांस्कृतिक प्रशिक्षक बन्ने सपना देख्छिन्।
त्यसैगरी, गायनमा रुचि राख्ने माया दुम्जन तामाङ, तामाङ सेलो नृत्यमा दक्ष सोनी पाख्रिन तामाङ, मेकअप आर्टमा रुचि राख्ने कविना घिसिङ तामाङ तथा सेल्फ ब्राइडल मेकअपमार्फत आत्मविश्वासको सन्देश दिन चाहने रोज स्याङ्देन लामा प्रतियोगितामा सहभागी छन्।
आयोजकका अनुसार प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स, स्टेज प्रस्तुति र कोरियोग्राफीलगायत विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट तालिम प्रदान गरिसकिएको छ।
कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको बताउँदै ग्राण्ड फिनालेका लागि सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्। समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा प्रतियोगिता सौन्दर्य प्रतियोगिताभन्दा फरक, पहिचान र सशक्तीकरणको अभियान भएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्ष तयार रहेको बताए।
ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ र सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने फस्ट रनरअप, सेकेन्ड रनरअप तथा भ्युअर्स च्वाइसतर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया