पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षका बीच आजदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुँदैछ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विधानको धारा १७ (२) बमोजिम माग गरिएको महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन हुन लागेको हो।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष अग्रसरतामा हुन लागेको महाधिवेशनले कांग्रेसभित्र नयाँ नीतिगत बहस र नेतृत्वको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिए पनि उनले त्यसलाई अस्वीकार गरेका हुन्।
उद्घाटन कार्यक्रमपछि सुरु हुने बन्द सत्रको नेतृत्व भने महाधिवेशनमा सहभागी ज्येष्ठ सदस्यले गर्ने व्यवस्था मिलाइएको छ। सचिवालय प्रमुख मनोजमणि आचार्यका अनुसार ज्येष्ठ प्रतिनिधि ओमकार श्रेष्ठ वा पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्नेछन्। २०१४ सालको मोरङ विशेष महाधिवेशनको परम्परालाई पछ्याउँदै यसपटक पनि स्थानीय सभापतिले नै उद्घाटनको कमान्ड सम्हाल्ने गरी तयारी पूरा गरिएको बताइएको छ।
देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानबाट जुलुसले निकालिने सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया