एमालेको ११ औं महाधिवेशन सुरु
- Pokhara Express
- २०८२ मंसिर २९ आइतबार
संसद् पुनस्र्थापना गरेरै छाड्ने अध्यक्ष ओलीको भनाइ
पोखरा एक्सप्रेस ,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा समुद्घाटन गरिएको छ । महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएकोसमेत बताए ।
उनले एमालेको यो महाधिवेशनले एकताको सन्देश दिने बताए । महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको उनले तर्क गरे । एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले ‘अण्डरमाइण्ड’ नगरोस् भन्दै उनले चेतावनीसमेत दिए ।
ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरे । एमाले भएर देशको अभिभारा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनस्र्थापना गरेर छाडिन्छ’, उनले भने । ११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उनले बताए । उनले भने, ‘एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुन्छ ।’
एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने संकपमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे । उनले भने, ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौं । कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।’
एमाले समावेशिताको अगुवा भएको भन्दै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए । महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उनले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको जिकिर गरे ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घूसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।
महाधिवेशनलाई विभिन्न दलका शीर्ष नेताहरुले पनि सम्बोधन गरेका थिए । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताए । उनले वर्तमान राजनीतिक अवस्थालाई संविधानभन्दा बाहिर जान नदिनका लागि संवैधानिक निकासको मार्ग भनेको निर्वाचन रहेको बताए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले लामो संघर्र्षबाट प्राप्त संविधान जोगाउन सबै दल केन्द्रित हुनुपर्ने बताए ।
महाधिवेशनको ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेका हुन् । पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा महाधिवेशन उद्घाटसत्र भएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।
महाधिवेनमा प्रतिनिधि, पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू, शुभेच्छुकहरुको उत्साहजनक उपस्थित थियो । तर महाधिवेशनमा धेरै मानिसको उपस्थिति देखाउन सार्वजनिक ‘फेक’ फोटो पनि शनिबार दिनभर भाइरल भयो ।
महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई उद्घाटन समारोह स्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षाजाँच गरिएको थियो । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टर उपकरण तथा अन्य सुरक्षा उपाय अपनाइएको थियो । महाधिवेशनमा विभिन्न झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
एमालेले यो महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ । उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
एमालेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी २ हजार १ सय ५४ प्रतिनिधि रहनेछन् ।
तपाईको प्रतिक्रिया