काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरालाई पर्यटकीय केन्द्रका साथै सातै प्रदेशको आर्थिक हब बनाउनुपर्नेमा जोड दिएका छन्। लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनको उद्घाटनका क्रममा प्रमुख अतिथि ढकालले पोखराको पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए।
उनले निजी क्षेत्रको सुझाव कार्यान्वयन गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र उक्त आयोगले सुझावसमेत दिएकाले त्यसको सुझावलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए। महासंघले दिएका सुझावहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र राख्ने गरी तयार पारिएको मस्यौदा रोक्न महासंघले महत्त्वपूर्ण भूमिका खेलेको पनि स्पष्ट पारे। निजी क्षेत्रलाई अख्तियारले हेर्न हुँदैन भन्ने कुरा बुझाउन सफल भएको उनले बताए।
त्यस्तै, स्वदेशी पुँजीबाट पनि ठूला आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि महासंघको नेतृत्वमा इन्भेस्टमेन्ट फण्ड स्थापना गरिएको र यसबाट उद्यम गर्न चाहनेहरूलाई सहयोग पुर्याउने पनि उनले जानकारी दिए।
निजी क्षेत्रका लागि मर्यादाक्रमको विषयमा पनि महासंघले आवाज उठाउँदै आएको र यसका लागि गृह मन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए। मर्यादाक्रमका लागि समिति गठन गरिएको र यसको कार्यान्वयनमा पनि महासंघले निरन्तर पहल गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष हेमराज ढकालले देशभरका व्यवसायीहरूको आवाज सरकारले सुनेर सोही अनुसार निजीक्षेत्रमैत्री नीति लिनुपर्ने बताए । संघका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया