पोखरा एक्सप्रेस ,पोखरा ।
हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल, गण्डकी क्षेत्रले पोखरामा आयोजना गरेको ‘तीज फेलोशिप कार्यक्रम’मा लोकप्रिय लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरेको छ ।
नेपाली मौलिक संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तीज पर्वको अवसरमा कोइरालालाई सम्मान गरिएको हो । सम्मानित व्यत्तित्व कोइरालाले तीजको मौलिकता, संस्कृतिको निरन्तरता र महिलाको सशक्तिकरणमा गीत संगीत भूमिकाको चर्चा गरिन् । उनले मौलिक संस्कृति बचाउन लायन्स जस्ता सामाजिक संघ संस्थाको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखिन् ।
कार्यक्रमका प्रमुख अतिथि मल्टिपल काउन्सिल चेयर पर्सन लायन मिलन थापाले तीजलाई केवल मनोरञ्जनमा मात्र सिमित नगरी सामाजिक एकता, लंैगिक समानता र सशत्तिकरणको रुपमा विकास गर्दै सामाजिक सद्भाव सहित मनाउन पर्नेमा जोड दिइन । उनले लायन्सले सेवा भावसँगै मौलिक परम्परा, संस्कृति संरक्षण र प्रवद्र्धनमा योगदान दिदै आएको बताइन् ।
सो अवसरमा लायन्स अन्तर्राष्ट्रिय जिल्ला गभर्नर लायन मिलन बाबु मल्लले लायन्स क्लबले समाजसेवा र सांस्कृतिक सहभागितामा जोड दिएको बताए ।
पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले  महिलाको पहिचान, अधिकार र आत्मसम्मानलाई बलियो बनाउँदै लैजान सके मात्र समाज समृद्ध हुने धारणा राखिन । तीज जस्ता सांस्कृतिक पर्वहरूले महिलालाई आफ्नो भावना अभिव्यक्त गर्न, आत्मबल वृद्धि गर्न र समानताको आवाज बुलन्द गर्न सशक्त मञ्च गर्ने उनको धारणा थियो ।
कार्यक्रमका अध्यक्ष तथा संयोजक डिस्ट्रिक्ट फेलोशिप चिफ लायन सबि शेरचनले स्वागत मन्तव्य राख्दै महिलाको अधिकार र सांस्कृतिक पहिचान संरक्षणमा अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्न यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राखिन ।
सम्मानित कोइरालाको व्यत्तित्वमाथि एम्बेसडर अफ गर्भनर पुजन शाक्यले प्रकाश पारेकी थिइन भने कार्यक्रमको संचालन सिनियर को चिफ एडभाइजर लायन विमला श्रेष्ठले गरेकी थिइन । कार्यक्रममा एक सय ७० जनाको सहभागिता रहेको थियो ।
                         
                         
                        
                    
तपाईको प्रतिक्रिया