इलाममा चिया महोत्सवको तयारी
- Pokhara Express
- २०८३ कातिर्क २२ शनिवार
पोखरा एक्सप्रेस ,इलाम ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव हुने भएको हो ।
महोत्सव व्यवस्थापनका लागि सूर्योदय-१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । सूर्योदय-७, ८ र ९ का जनप्रतिनिधिसहित स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले तयारी तीव्र पारेको संयोजक लामाले बताए ।उनका अनुसार महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् ।महोत्सवमा ‘जलवायु परिवर्तनको सामना: दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयक अन्तरसंवाद हुनेछ । सङ्घीय सांसद, नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधि सहभागी हुने अन्तरसंवादको सहजीकरण पत्रकार वसन्त बस्नेतले गर्ने संयोजक लामाले जानकारी दिए ।
महोत्सवमा स्थानीय खाद्य परिकारका कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, परीक्षण र बजारीकरणको व्यवस्था गरिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले बताए । उनका अनुसार महोत्वसमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछन् ।पुरुषतर्फ कन्याममा १२ दशमलव ५ किलोमिटर र महिलातर्फ कन्याममै ९ किलोमिटर दुरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् ।त्यस्तै, महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगद पुरस्कार पाउनेछन् । महोत्सवमा आन्तरिक र बाह्य गरी करिब १० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको समितिका संयोजक लामाले बताए ।
“चिया पर्यटन प्रवर्द्धन गर्ने र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “महोत्सव आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।” महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय-७ कन्यामबाट वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ ।
सूर्योदय नगरपालिका-७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् ।-रासस
तपाईको प्रतिक्रिया