स्वीस नागरिक स्यूमरको राधाकृष्ण वृद्धाश्रमलाई १५ वर्षदेखि निरन्तर सहयोग
- Pokhara Express
- २०८३ कातिर्क २० बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा विगत १५ वर्षदेखि निरन्तर सामाजिक तथा आर्थिक सहयोग गर्दै आएका स्विट्जरल्यान्डका नागरिक मिस्टर क्रिस्टोफ स्यूमरलाई आश्रममा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
स्विट्जरल्यान्डमा वृद्धाश्रमसँग आबद्ध स्यूमरले सिड फाउन्डेसनका निर्देशक दामोदर भक्त थापाको समन्वयमा डेढ दशकअघि राधाकृष्ण वृद्धाश्रमसँग जोडिएर ज्येष्ठ नागरिकको सेवा र आश्रमको भौतिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्दै आएका हुन् ।
उनले आश्रममा पाँचकोटे भवन, चौतारो, पार्क तथा शौचालय निर्माण, खाद्यान्न र न्यानो कपडाको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मी, भान्सेसहित चार जना कर्मचारीको व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएका छन् । उनको अतुलनीय सहयोगले आश्रमको सेवा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुगेको संस्थाका प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले बताए ।
सम्मान कार्यक्रममा स्यूमरले आफू सन् १९७० देखि नै नेपाल आउँदै गरेको स्मरण गर्दै तत्कालीन समयमा नेपालको विकास र यातायातको अवस्था सहज नरहेको बताए । निर्देशक दामोदर भक्त थापासँगको निकटताका कारण राधाकृष्ण वृद्धाश्रममा सेवा गर्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।आश्रममा रहेका ज्येष्ठ नागरिकको अवस्था देखेपछि मानवीय सेवाप्रतिको भावना अझ बलियो बनेको बताउँदै उनले सुरुवाती दिनमा पाँचकोटे भवन निर्माणमा सहयोग गरेको स्मरण गरे । आश्रम परिसरमा रोपिएका वरपीपल र निर्माण गरिएको चौतारो ज्येष्ठ नागरिकलाई शीतलता प्रदान गर्ने सेवाको प्रतीक बनेको उनले उल्लेख गरे ।
माया, ममता, सुरक्षा, आदर, सम्मान, हेरचाह र स्वच्छ वातावरणले मात्रै वृद्धाश्रम सुरक्षित र व्यवस्थित बन्ने बताउँदै स्यूमरले आफूले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । नेपाल र नेपालीप्रति आफू सदैव आभारी रहेको उल्लेख गर्दै उनले मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए ।
१५ वर्षको सहकार्यमा कुनै ठूलो बाधा अवरोधबिना सेवा निरन्तर अगाडि बढ्न सकेकोमा खुसी व्यक्त गर्दै उनले व्यवस्थापन समिति र आश्रममा आश्रित ज्येष्ठ नागरिकप्रति सदैव माया र सद्भाव रहने बताए । सबैले एउटै उद्देश्यका साथ ज्येष्ठ नागरिकको हेरचाह गरी उनीहरूलाई गर्वका साथ जीवनयापन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा सिड फाउन्डेसनका निर्देशक दामोदर भक्त थापाले विदेशी सहयोगमा मात्रै निर्भर नभई संस्था आफैँ आत्मनिर्भर बन्नुपर्ने बताए । उनले वृद्धाश्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न अक्षयकोष स्थापना गर्नुपर्नेमा जोड दिँदै नेपाल सरकार, समाज कल्याण परिषद् तथा स्थानीय सरकारसँग सहकार्य गरेर सेवा विस्तार गर्न आग्रह गरे ।
संस्थाका अध्यक्ष विश्वराज लामिछानेले आश्रमलाई निरन्तर सहयोग गर्दै आएका क्रिस्टोफ स्यूमर, उनकी धर्मपत्नी तथा परिवारप्रति आभार व्यक्त गरे । दाताबाट प्राप्त सहयोगको उचित सदुपयोग गर्दै संस्थालाई थप व्यवस्थित र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्य संघसंस्था तथा सहयोगी मनहरूलाई पनि सहकार्यका लागि आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम लिगल, सिड फाउन्डेसनका अध्यक्ष मदन थापा, राधाकृष्ण मन्दिरका सहअध्यक्ष रामचन्द्र सिग्देललगायतले विभिन्न संघसंस्था तथा दाताको सहयोगबाट आश्रमले गण्डकी प्रदेशमै उदाहरणीय सेवा प्रदान गर्न सफल भएको बताए ।
महासचिव रजनी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा हाल राधाकृष्ण वृद्धाश्रममा पाँच दर्जनभन्दा बढी ज्येष्ठ नागरिक आश्रित रहेको जानकारी दिइयो ।
तपाईको प्रतिक्रिया