पोखरा एक्सप्रेस ,बाँके ।
बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । “धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ”, बुढाथोकीले भने ।
यस पटक धानको उत्पादन बढ्ने आशा गरेकामा अहिले पाक्ने बेलामा रोगको सङ्क्रमणले उत्पादन घट्ने उनको भनाइ छ । रोगबारे वडा कार्यालय र गाउँपालिका कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रयास नभएको उनले गुनासो गरे ।बुढाथोकीको जस्तै समस्या नेपालगञ्ज–१९ सुइयागाउँका ललवा माहुतको धानखेतीमा पनि देखिएको छ । फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले ढलाएको धानमा अहिले रोगको पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले कतिपय धानखेतमा रोगको सङ्क्रमण भएको सूचना आए पनि क्षतिको विवरण यकिन हुन नसकेको बताइन् ।उनले पालिकास्तरबाट रोग सङ्क्रमणको अवस्था र क्षतिका बारेमा सूचना सङ्कलन गर्ने काम भइरहेको जानकारी दिइन् ।बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले बताइन् ।
तपाईको प्रतिक्रिया