पोखरा एक्सप्रेस ,पोखरा ।
शानदार कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा इजिप्ट माथि ३-२ को जित निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको हो।
दुई गोलले पछि परेको अवस्थामा १५ मिनेट भन्दा कम समयमा तीन गोल गर्दै अर्जेन्टिनाले शानदार कम्ब्याक पूरा गर्यो।
खेलको १५औं मिनेटमा मारवान अत्तियाको कर्नर पासमा यासेर इब्राहिमले उत्कृष्ट हेडरमार्फत गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६७औं मिनेटमा मोस्ताफा जिकोले गोल गरेपछि इजिप्ट २–० ले अघि बढ्यो र विश्वकप विजेता अर्जेन्टिना ठूलो संकटमा पर्यो।
७९औं मिनेटमा क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे भने त्यसको चार मिनेटपछि अर्थात् ८३औं मिनेटमा पहिले पेनाल्टी मिस गरेका लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा पुर्याए।
अन्ततः खेलको इन्जुरी समय (९०+३ मिनेट) मा एन्जो फर्नान्डेजले बक्स भित्रबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएपछि अर्जेन्टिनाले ३–२ को जित दर्ता गर्न सफल भयो।
तपाईको प्रतिक्रिया