पोखरा एक्सप्रेस ,पोखरा ।
एन प्याब्सन कास्कीको आयोजना विद्यालय सशक्तीकरणका लागि २१औँ शताब्दीमा नेतृत्वका चुनौती विषयक प्रशिक्षण शनिवार देखि सुरु भएको छ ।
काठमाण्डौं युनिभर्सिटी स्कुल अफ एजुकेसनको सहकार्यमा भएको उक्त प्रशिक्षण कार्यक्रम आइतबार समापन हुने छ । प्रशिक्षण कार्यक्रममा एन प्याब्सनमा आबद्ध ४४ विद्यालयका संस्थापक तथा प्रिन्सिपलको सहभागिता रहेको छ ।उक्त प्रशिक्षण कार्यक्रममा काठमाण्डौं युनिभर्सिटी स्कुल अफ एजुकेसनका ढुण्डिराज गिरी, धनपति सुवेदी, डिल्लीराम भट्टराई, स्मृति न्यौपाने, राजीव सुवेदी, कृति सुब्बा र राजन अधिकारीले सहजीकरण गर्नेछन् ।
निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा शैक्षिक नेतृत्वमा रहेका व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २१ औँ शताब्दीको बदलिँदो शैक्षिक परिवेशमा विद्यालय व्यवस्थापन, नेतृत्व क्षमता विकास, नवप्रवर्तन, प्रविधिको उपयोग तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धनका विषयमा व्यापक छलफल गरिने भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका निर्देशका सुवास पन्तले प्रभावकारी नेतृत्वले विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक संस्थाहरूले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेतृत्व केवल प्रशासनिक जिम्मेवारीमा सीमित नभई विद्यार्थी, शिक्षक र समुदायलाई सकारात्मक दिशामा प्रेरित गर्ने प्रक्रियासमेत भएको बताए ।
तपाईको प्रतिक्रिया