पोखरा एक्सप्रेस ,पोखरा ।
नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम साइमन अर्नस्टेले फिस्टेल एकेडेमी आई.बी. वर्ल्ड स्कुलको भ्रमण गर्नुभयो। भ्रमणका क्रममा उहाँले विद्यार्थी, शिक्षक तथा विद्यालयका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्नुभयो।
राजदूत अर्नस्टेले विद्यालयको उत्कृष्ट पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सिकाइ वातावरणको प्रशंसा गर्दै विद्यार्थीहरूलाई उपलब्ध अवसरहरूको अधिकतम उपयोग गरी आफ्नो भविष्य निर्माणमा समर्पित हुन प्रेरित गर्नुभयो।
अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले शिक्षा, नेतृत्व तथा अन्तर्राष्ट्रिय अवसरसम्बन्धी जिज्ञासा राखेका थिए। विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, जो मोनास विश्वविद्यालय र युनिभर्सिटी अफ सिड्नीका पूर्वविद्यार्थी (Alumnus) हुनुहुन्छ, ले यस भ्रमणले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई विश्वव्यापी दृष्टिकोण विकास गर्न प्रेरित गरेको बताउनुभयो।विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले सम्पूर्ण विद्यालय समुदायका लागि प्रेरणादायी र अविस्मरणीय अनुभव प्रदान गर्यो।
तपाईको प्रतिक्रिया