पोखरा एक्सप्रेस ,काठमाडौं।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै चुलिएको इन्धन अभावले नेपालका विकास आयोजनालाई पनि असर पारेको छ। इन्धन आपूर्ति अवरुद्ध हुँदा खाद्यान्नसँगै निर्माण क्षेत्रका कच्चा पदार्थसमेतको अभाव देखिएको हो।
सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिन अभावले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको काम रोकिएको छ।
निर्माणको मुख्य सिजनमा अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेको भनाइ छ।
बिटुमिन सप्लायरले हालका लागि नियमित आयात गर्न नसक्ने अवस्था रहेको बताएपछि अर्डर क्यान्सिल गरिएको उनले बताए। ‘निर्माण अन्तिम चरणमा रहेको नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ। बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दागर्दै बिटुमिन अभावपछि काम रोक्यौं।’
१२ दशमलव २ किलोमिटर रहेको नागढुंगा–नौबिसे सडकमा ६ किलोमिटर सडक अन्तिम कालोपत्र गर्न करिब ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताए। तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिनभित्र नागढुंगा–नौबिसे सडक खण्डको अन्तिम कालोपत्रे सम्पन्न गरिसक्ने दाबी घिमिरेले गरे।
निर्माण व्यवसायीले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी दिइसकेको नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझाले बताए।
नागढुंगाा–नौबिसे सडक खण्डको हालसम्म भौतिक प्रगति ८८ र वित्तीय प्रगति ८२ प्रतिशत पुगेको ओझाको भनाइ छ। पेट्रोलियम अभाव प्रत्यक्ष रुपमा आयोजना पनि देखिएको हो। यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको छ।
तपाईको प्रतिक्रिया