छोरेपाटन मा.वि.का कक्षा १२ का विद्यार्थीको बिदाइ
- Pokhara Express
- २०८२ चैत २२ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ ।
विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच कक्षा १२ अन्तर्गत सोही समूहका विद्यार्थीको विदाइ गरिएको हो।
कार्यक्रममा भनाई राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्नुहुँदै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गर्नुभयोे। उहाँले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्नुहुँदै छोरेपाटन नमूना शैक्षिक संस्था रहेको दावी गर्नुभयोे। विद्यार्थीलाई समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित बन्न उहाँले सुझाउनुभयो।
सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यार्थीको अनुशासन, लगनशीलता एवम् सिर्जनात्मक क्षमताको प्रशंसा गर्नुहुँदै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयोे।
कार्यक्रम संयोजक शिक्षक लिलानाथ आचार्य(विमल)ले आगामी बोर्ड परीक्षाको सफलताको कामना गर्नुहुँदै सिकेका ज्ञान र सीपले नै भोलिको जीवन मार्गदर्शन गर्ने स्पष्ट पार्नुभयो।
कक्षा १२ का विद्यार्थी आराधना ढकाल, निभिस सुवेदी लगायतले कार्यक्रम आयोजना गरेकोमा विद्यालय तथा कक्षा ११ का विद्यार्थी प्रति धन्यवाद दिए।
कक्षा ११ का विद्यार्थी अञ्जली सुवेदी, सान्वी कार्की, सञ्जु ढकाल, अञ्जु बुढाथोकी, प्रेरणा थापा, श्रद्धा ढकाल लगायतले दाइदिदीको विदाइ सम्मान अविस्मरणीय हुने उल्लेख गर्दै त्यसक्रममा आफ्ना अनुभव, अनुभूति प्रस्तुत गरे।कार्यक्रमका बीच विद्यार्थीले विभिन्न प्रस्तुति राखे।
कक्षा ११ की अञ्जली सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक डिल्लीराम बरालले गर्नुभयो।
बाल विकासदेखि कक्षा १२ सम्म संचालित छोरेपाटन माविमा हाल दुई हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन्। जसअन्तर्गत कक्षा ११, १२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन तथा सामाजिक समूहका कक्षा सञ्चालित छन्।
तपाईको प्रतिक्रिया