पोखरामा ट्रान्स पार्टी गर्ने प्रहरी नियन्त्रणमा
- Pokhara Express
- २०८२ चैत १८ बुधबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको सेदीस्थित सामुदायिक वन नजिकैको एउटा पुरानो घरमा अवैध ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् । फेवातालको माथिल्लो भेगमा पर्ने जंगलमा सोमबार राति प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेमा विदेशी र नेपाली नागरिक छन् । तीमध्ये १२ जनामाथि लागु औषध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बाँकी २६ जनालाई भने सोधपुछपछि छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले यो कारबाही गरेको हो । प्रहरी टोली राति साढे १ बजे पार्टी स्थलमा पुगेको थियो । त्यहाँ संगीतको तालमा युवायुवती लागु औषधको नशामा रमाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार यो पार्टी कम्तीमा ७२ घण्टासम्म सञ्चालन गर्ने योजना थियो । तर गोप्य सूचनाका आधारमा प्रहरीले पहिलो दिनमै छापा मार्न सफल भयो ।
प्रहरीले खानतलासी गर्दा त्यहाँ विभिन्न प्रकारका प्रतिबन्धित लागु औषध फेला पारेको डिएसपी बस्नेले जानकारी दिए ।
बरामद गरिएका पदार्थमा एमडीएमए, चरेस र कोकिनजस्तो देखिने सेतो धुलो छन् । यस्तै खैरो हेरोइन जस्तो पदार्थ, आइस भनिने एम्फेटामिन जस्तो देखिने पदार्थ र गाँजा पनि भेटिएका उनले जानकारी दिए ।
प्रहरीले म्याजिक मसरुम र एलएसडी भनिने लाइसर्जिक एसिड डाइथाइलामाइडका कागज र तरल पदार्थसमेत बरामद गरेको छ । ‘प्रहरी टोली पुग्दा विदेशी र नेपाली युवायुवती लागु औषधको नशामा रमाइरहेका थिए,’ डिएसपी बस्नेतले भने ।
Advertisement
मुद्दा चलाइएका १२ जनामा ब्राजिल, भारत र नेपालका नागरिक छन् । ४८ वर्षीय ब्राजिलियन नागरिक चाल्र्स गुवाइवामाथि प्रहरीले मुद्दा दर्ता गर्ने भएको छ । भारतीय नागरिकमा ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा छन् । यस्तै नेपाली नागरिकमा पोखरा ६ का २७ वर्षीय विशाल परियार, पोखरा ५ का २५ वर्षीय आशिष दर्जी र पोखरा ६ कै ३२ वर्षीय बमेन्द्र पुन छन् । दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि मुद्दा चल्ने भएको छ ।
पोखरामा ट्रान्स पार्टीलाई अवैध मानिन्छ । प्रहरीको आँखा छलेर यस्ता गतिविधि पहिले पनि हुने गरेका थिए । यसअघि २०७५ सालको चैतमा पोखराको खहरे क्षेत्रबाट ४४ जना पक्राउ परेका थिए । विसं २०६९ सम्म पोखराको फूलबारी रिसोर्टमा यस्ता पार्टी हुने गरेको प्रहरीको तथ्यांक छ । अहिले फूलबारी रिसोर्ट बन्द छ । लामो समयपछि पोखरामा यति ठूलो संख्यामा पार्टी गर्नेहरु समातिएका हुन् ।
तपाईको प्रतिक्रिया