पोखरा एक्सप्रेस , पोखरा ।
गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो ।जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको हललाई संसदको रुपमा प्रयोग गरिएको छ ।
नवौं अधिवेशनको पहिलो बैठकले गण्डकीका पूर्वसांसद कृष्ण थापाको शोक प्रस्ताव पारित गरेर केहीबेरलाई स्थगित गरिएको छ ।केहीबेरमा बस्ने बैठकमा दलका नेताहरुले बोल्ने छन् भने प्रादेशिक सडक सम्बन्धी संशोधन गर्न बनेको विधेयक संसदमा पेश हुने छ ।
एमालेका पूर्वसांसद कृष्ण थापाको फागुन २८ गते कार्यक्रममा सहभागी भइरहेकै बेला ह्ृदयघातबाट मृत्यु भएको थियो ।थापा २०७४ सालमा कास्की–२ (क )बाट निर्वाचित भएका थिए । उनको निधनले प्रदेश सभालाई अपुरणीय क्षति पुगेको भन्दै संसदले शोक प्रस्ताव पारित गरेको छ ।
थापा २०५४ सालमा पोखराका मेयर थिए भने अहिले एमालेको केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज समेत थिए ।कास्कीमा हक्की नेताको छवि बनाएका थापाले फागुन २१ को निर्वाचनमा सुरुमा टिकट पाए पनि नेतृत्वबाटै पछि युवा नेता रश्मि आचार्यलाई दिइएको थियो । २०७९ मा थापा पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया