पोखरा एक्सप्रेस ,वासिङ्टन ।
अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
विदेश विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अधिकारीहरूलाई यी देशका आवेदकको भिसा प्रक्रिया रोक्न निर्देशन दिएको छ। यो निर्णय नोभेम्बरमा जारी गरिएको ‘पब्लिक चार्ज’ सम्बन्धी कडा नियमको एक हिस्सा भएको मन्त्रालयले जनाएको छ।
विदेश विभागका अनुसार अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न र सरकारी कोषमाथिको भार कम गर्न यो नीति ल्याइएको हो। ‘अमेरिकी जनताको सम्पत्तिबाट लाभ उठाउने खालका आप्रवासीहरूको प्रवेशमा कडाइ गर्न ट्रम्प प्रशासन प्रतिबद्ध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले प्रक्रियाहरूको पुनरावलोकन गरेपछि मात्र भिसा प्रक्रिया पुनः सुचारु गर्ने वा नगर्नेबारे थप निर्णय लिने बताएको छ।
तपाईको प्रतिक्रिया