गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्की हस्तान्तरण
- Pokhara Express
- २०८२ भाद्र १३ शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा
गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभरनर एमजेएफ लायन प्रजापति बाँस्तोलाले गरेका थिए । प्रमुख अतिथि बाँस्तोलाले लायन्स क्लव अफ पोखरा हेमजाले शुद्ध खानेपानीका लागी गरेको कार्यको प्रशंशा गर्दै जहाँ समस्या त्यहाँ लायन्स रहेको यस्ता कार्यहरुले पुष्टि गरेको कुरा बताउनुभयो ।बिशेष अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले लायन्सले हेमजा क्षेत्रमा गरेको कार्यहरुको प्रशंशा गर्दै शिक्षा,स्वाश्थ्य तथा सामाजिक क्षेत्रमा बिभिन्न विधामा कार्य गर्दै आइरहेको र लायन्स क्लव र जनप्रतिनिधिको उद्येश्य एउटै रहेको बताउनुभयो ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्र्णका पूर्व अध्यक्ष एवं खानेपानी ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक सोनाम साङपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयका विद्यार्थीको दिसा परीक्षण गर्दा ७० प्रतिशत विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसयता विभिन्न दाता सहयोगमा पानी शुद्ध बनाउन यहाँका विभिन्न विद्यालयमा ३ सय थान यूरोगार्ड वितरण गरिएको उनले स्मरण गरे । वितरित यूरोगार्डले सुरुमा राम्रै काम गरे पनि तत्कालीन अवस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत सम्भार अभावले २–३ वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ति स्थायी समाधान गर्न सन् २०१७ देखि खानेपानी ट्याङ्की निर्माण थालिएको हो र आज यो ५४औं खानेपानी टंकी हस्तान्तरण कार्यक्रम रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले लायन्स क्लवले गरेको कार्यको सह्राना गर्दै धन्यवाद तथा आभार ब्यक्त गर्नुभयो ।हस्तान्तरण समारोहमा गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, लायन्स इन्टरनेशनल ३२५ जे नेपालका गण्डकी एरिया चिफ महेश श्रेष्ठ, जोन ९ का जोन चियर पर्सन तिर्थ श्रेष्ठ लगाएतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको छ ।
लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठ, राष्ट्रिय झण्डाको अभिवादन निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले र कार्यक्रम संचालन सचिव कृष्णमान श्रेष्ठले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया