होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट
- Pokhara Express
- २०८२ असार २२ आइतबार
२२ असार ,कास्की ।
कास्कीको ह्याङ्जाकोट होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ, जहाँ स्थानीय संस्कृति र प्राकृतिक सुन्दरताको अनुभव गर्न सकिन्छ।
होमस्टे विसं २०६४ मा सुरु भएको थियो र २०७२ मा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो, जसले यसको महत्त्व बढाएको छ।
बसाइँसराइको समस्याका कारण होमस्टे सञ्चालनमा केही चुनौतीहरू छन्, तर स्थानीय व्यवसायीहरूले पर्यटनको विकासका लागि प्रयास गरिरहेका छन्।
कास्की । बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृश्यसँगै वरपर हरियाली जङ्गल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन ।
हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने । त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ ह्याङ्जाकोट सामुदायिक ‘होमस्टे’ (घरबास) का विशेषता हुन् यी । त्यसमा यहाँ पुग्ने स्वदेशी तथा विदेशी पाहुनाको स्वागतमा पञ्चेबाजासहित फूलमाला लिएर पर बाटैसम्म पुग्ने सञ्चालक र गाउँवासीहरूको शैली थप हेर्न लायक हुन्छ ।
पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे«े गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि बढेपछि ह्याङ्जाकोट पुग्न सकिन्छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जना पाहुना अट्ने गरी होमस्टे सञ्चालनमा छ ।
विसं २०६४ बाट सञ्चालनमा ल्याइएको उक्त सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो । त्यसपछि यहाँको महत्त्व थप बढेको छ ।
ह्याङजाकोटबाट कुमारी माछापुच्छ्रे« सहित अन्नपूर्ण, लमजुङलगायत हिमाल मात्र हैन, छिमेकी गाउँ ल्वाङको चियाबारी समेत यहाँबाट सजिलै दृश्यावलोकन गर्न सकिन्छ । गाउँबाट माछाको पुच्छर आकारको माछापुच्छ्रे« नजिकै देखिनुका साथै यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा विदेशी पर्यटकको भीड लाग्ने गर्छ ।
होमस्टेका अध्यक्ष ईश्वर गुरुङ आन्तरिकले पर्यटक ढिँडो, लोकल कुखुरा, रक्सीलगायत खाना मन पराउनुको साथै साँझ सांस्कृतिक कार्यक्रममा खुसी मानेर नाच्ने गरेको सुनाउँछन् । उनका अनुसार यहाँका समग्रमा रु एक हजार मूल्य पर्ने ‘प्याकेज’ बनाइएको छ । त्यसमा स्वागत सत्कार, स्थानीय रूपमा उत्पादित रैथाने बाली कोदो, गाउँमै उत्पादन भएको साग, आलु, लोकल कुखुरा, खाजा, रात्रिको खान, एक रातको बासलगायत सुविधा छन् ।
स्थानीय पर्यटन व्यवसायी हर्क गुरुङले गाउँमा पर्यटक बढेसँगै ठूला होटलहरू निर्माण हुने क्रमसमेत बढ्दै गएको बताए । ह्याङ्जाकोटदेखि तीन किमी पूर्वको धिताल गाउँमा अर्बौँ खर्चेर दुई होटल निर्माण हुन लागेका उजले बताए । “ह्याङ्जाकोटले होमस्टेको विकास गर्दै अगाडि बढ्न खोजेको छ, । यसले खुसी नै दिएको छ, तर तीन सय वर्ष पुरानो इतिहास बोकेको यस गाउँका अधिकांश परिवार पोखरा तथा काठमाडाैँमा बसाइँ सर्दा गाउँ नै खाली हुने चिन्ता छ”, गुरुङले भने ।
ह्याङ्जाकोट सामुदायिक होमस्टे १० नं का सञ्चालक सुन्दर गुरुङले वर्षातको समयमा पर्यटक आवागमन केही कम भए पनि अन्य मौसममा भने भरिभराउ हुने गरेको बताए । गाउँमा पानी, बत्ती र सञ्चारको सुविधा पुगेकाले हाल पर्यटक आनन्दसँग बस्ने गरेको उनले बताए ।
होमस्टे सञ्चालक कुमार गुरुङले सुरुमा २० घरमा सञ्चालन गरिएको घरबास कार्यक्रम अधिकांश परिवार बसाइँ सरेर गएका कारण हाल १२ घरमा सीमित हुन पुगेको जानकारी दिए । उनले भने, “रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन । यसलाई रोक्न सके गाउँको रौनकै अर्को हुन्थ्यो ।”-(रा स स )
तपाईको प्रतिक्रिया