१२ पुष ,काठमाडौ
शैक्षिक जनशक्ति विकास परिषदको बिहीवार बसेको २७औं बैठकले सेवा प्रवेश तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरु स्वीकृत गरेको छ ।
एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो ।
शिक्षक पेशागत विकासको प्रारूप-२०८० ले शिक्षक पेशागत विकासका विभिन्न दश ओटा विधिहरूमार्फत् शिक्षकको पेशागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको छ ।
परिषद् बैठकमा बोल्दै मन्त्री विद्या भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताउनुभयो । तालिम पाठ्यक्रमलाई निर्देशक सिद्धान्त मानी तालिमका विषयवस्तुलाई लचिलो (Flexible) बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टिकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने कुरा उहाँले बताउनु भयो । परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने कुरा मन्त्री भट्टराईले उल्लेख गर्नुभयो ।
तालिम पाठ्यक्रम स्वीकृती सँगै प्रदेश शिक्षा तालिम केन्द्र मार्फत सघन रुपमा शिक्षकहरुका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले यही मिति २०८१।९।१६ देखि केन्द्रमा प्रशिक्षक प्रशिक्षण समेत सञ्चालन गर्ने गरि तयारी अगाडी बढाएको छ ।
बैठक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा बसेको थियो।
तपाईको प्रतिक्रिया