५ बैशाख ,पोखरा ।
विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदाम घर नेपाल सरकारले प्रदेशलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले उक्त गोदाम घर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन आपत्कालीन गोदाम घर निर्माण गरिएको गृहमन्त्री लेखकले बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुविधा सम्पन्न गोदाम घर राहत वितरण र विपद् व्यवस्थापनमा चुस्त र प्रभावकारी कार्यसम्पादनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण र समय मै वितरणमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ ।विश्व खाद्य कार्यक्रम (WFP) र युरोपियन युनियनको सहयोगमा तथा नेपाल सरकारको विपद् जोखिम व्यवस्थापन प्राधिकरणको समन्वयमा निर्माण गरिएको गोदाम घरमा भूकम्प, बाढी पहिरो जस्ता आपत्कालीन अवस्थाहरूमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण गरिनेछ ।

तपाईको प्रतिक्रिया