जनकपुरधाम-अयोध्या साप्ताहिक रेल सेवा स्वीकृत, नेपालको धार्मिक पर्यटन र अर्थतन्त्रमा नयाँ आशा
- Pokhara Express
- २०८३ कातिर्क २९ शनिवार
काठमाडौं। जनकपुरधाम र अयोध्याबीच अब सीधा रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेल मन्त्रालयले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी)ले शनिबार जारी गरेको विज्ञप्तिमा यो सेवाले सीमापार सम्पर्क, धार्मिक पर्यटन र नेपाल-भारत मित्रतालाई अझ बलियो बनाउने उल्लेख गरिएको छ।रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई पवित्र स्थललाई यो रेलले जोड्ने छ। एकातिर माता सीताको जन्मभूमि मानिने जनकपुरधाम छ। अर्कोतिर भगवान् श्रीरामको जन्मभूमि अयोध्या। विज्ञप्तिअनुसार यो सेवाले दुवै देशका यात्रुलाई यी प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्रसम्म पुग्न सजिलो बनाउने छ। दुई देशबीचको साझा सभ्यतागत सम्पदालाई अझ सुदृढ गर्ने छ।
करिब ६०४ किलोमिटर लामो यो रेलमार्ग जनकपुरधामबाट सुरु भई अयोध्या क्यान्टसम्म पुग्ने छ। बाटोमा रेल भारतको बिहार र उत्तर प्रदेशका जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढाउन-ओराल्न रोकिनेछ। रेल हप्तामा एक पटक चल्ने छ। जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार रेल छुट्ने छ। सेवा सुरु हुने मिति र भाडादरबारे भने विज्ञप्तिमा केही खुलाइएको छैन।
यो रेल सेवाबाट सबैभन्दा ठूलो लाभ नेपालको धार्मिक पर्यटनलाई हुने अपेक्षा गरिएको छ। भारतका लाखौं राम-सीता भक्तका लागि जनकपुरधाम आस्थाको प्रमुख केन्द्र हो। अहिलेसम्म अयोध्या र पूर्वी उत्तर प्रदेशबाट जनकपुर आउन बस वा निजी सवारी साधनमा भर पर्नुपर्ने अवस्था थियो।
सिधा रेल सेवाले भारतीय तीर्थयात्रीलाई सस्तो, सुरक्षित र सहज यात्राको विकल्प दिनेछ। यसले जनकपुर आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने देखिन्छ। विशेषगरी विवाह पञ्चमी, रामनवमी र अन्य चाडपर्वका बेला भारतीय भक्तजनको आगमन अझ बढ्ने सम्भावना छ।
पर्यटक बढ्दा त्यसको सिधा फाइदा जनकपुर र मधेस प्रदेशको स्थानीय अर्थतन्त्रलाई पुग्नेछ। होटल, लज, रेस्टुरेन्ट, यातायात व्यवसायी, धार्मिक सामग्री बेच्ने व्यापारी र टुर गाइडको आम्दानी बढ्ने आशा गरिएको छ। विश्वप्रसिद्ध मिथिला चित्रकला, हस्तकला र स्थानीय उत्पादन बेच्ने कलाकार तथा उद्यमीलाई पनि ठूलो बजार मिल्नेछ। भारतीय विज्ञप्तिले पनि यो सेवाले पर्यटन व्यवसायी, आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत कारिगरलाई नयाँ अवसर दिने उल्लेख गरेको छ।
यो सेवाले जनकपुर–जयनगर रेलमार्गको उपयोगिता पनि बढाउने अपेक्षा गरिएको छ। नेपालको एकमात्र सञ्चालित यात्रुवाहक रेलमार्गमा लामो दूरीको अन्तर्राष्ट्रिय सेवा थपिनु नेपाल रेल्वेका लागि महत्त्वपूर्ण उपलब्धि हुन सक्छ। यसले रेलमार्गको व्यावसायिक सम्भावना बढाउनुका साथै भविष्यमा थप सीमापार रेल सेवा विस्तारको आधार पनि तयार गर्न सक्छ।
नेपाली नागरिकका लागि पनि यो सेवा उत्तिकै लाभदायक हुनेछ। अयोध्याको राम मन्दिर दर्शन गर्न जाने नेपाली तीर्थयात्रीको संख्या पछिल्लो समय निकै बढेको छ। अब उनीहरू जनकपुरबाटै सीधै अयोध्या पुग्न सक्ने छन्।
साथै, अध्ययन, उपचार, व्यापार, रोजगारी र पारिवारिक कामले भारत जाने मधेस प्रदेशका बासिन्दालाई गोरखपुर, सीतामढी, रक्सौलजस्ता प्रमुख सहरसम्म पुग्न सजिलो र किफायती यातायातको विकल्प मिल्नेछ। सीमावर्ती क्षेत्रमा बेटी–रोटीको सम्बन्ध रहेका परिवारबीचको आवतजावत पनि अझ सहज हुनेछ।
रामायण सर्किटको विकासमा पनि यो रेल सेवा कोसेढुंगा साबित हुने विश्वास गरिएको छ। लामो समयदेखि जनकपुर र अयोध्यालाई जोड्ने धार्मिक पर्यटन सर्किटको चर्चा हुँदै आएको थियो। यो रेलले त्यसलाई व्यावहारिक रूप दिँदै जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
नेपाल र भारतबीच शताब्दीऔं पुरानो सांस्कृतिक, ऐतिहासिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय रेल मन्त्रालयले यो नयाँ सेवाले रेल सम्पर्कमार्फत दुई देशका जनतालाई अझ नजिक ल्याउने र द्विपक्षीय सहकार्यमा नयाँ आयाम थप्ने जनाएको छ।
जानकार भन्छन्, ‘नेपाल पक्षले पनि होटल, सडक, सरसफाइ, पर्यटक सूचना केन्द्र र सीमा नाकाको व्यवस्थापनजस्ता पूर्वाधार समयमै तयार गरे मात्र यो सेवाबाट अधिकतम लाभ लिन सकिन्छ।’
तपाईको प्रतिक्रिया