काठमाडौं। जुवाको खालबाट भक्तपुर, रूकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ व्यक्ति पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरेसमेत नौ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३६ हजार १०० रुपैयाँ र छ बुक ताससहित पक्राउ गरेको हो।
रूकुम पश्चिम, चौरजहारी नगरपालिका–२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय दीपक नेपालीसमेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ९९० र एक बुक ताससहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका–११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङसमेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद पाँच लाख ९२ हजार पाँच रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेकोे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएका छ।
तपाईको प्रतिक्रिया