पोखरा एक्सप्रेस ,भोजपुर।
जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिनापानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। धान भित्र्याउने समयमा एक्कासि असिनापानी परेपछि किसान समस्यामा परेका हुन्।
जिल्लाका विभिन्न स्थानमा परेको असिनापानीले धानबालीमा क्षति पुगेको छ। भोजपुर नगरपालिका– ५ का स्थानीय किसान धनबहादुर थापाले असिनापानीले धानमा क्षति पुगेको बताए। ‘हिजो एक्कासि असिनापानी पर्यो,’ उनले भने, ‘पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ। यही असिनापानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ।’
उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन्। धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ। असिनापानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ।
तपाईको प्रतिक्रिया