चक्रवात ‘अर्नब’ को प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
- Pokhara Express
- २०८३ कातिर्क १४ शुक्रबार
पोखरा एक्सप्रेस ,काठमाडौँ ।
‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वसूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार क्षेत्रमा मध्यम जोखिम रहेको जनाएको छ। यी जलाधार तथा तिनका उपजलाधारहरूमा उल्लेख्य वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम बढेको हो।
महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार नारायणी, कोशी र तिनका शाखा नदीहरूका साथै बागमती, कमला र कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसले गर्दा नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। सोही अवधिमा महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीहरूमा भने जलसतह सामान्य मात्र वृद्धि हुने आँकलन गरिएको छ।
शनिबार पनि कोशी, बागमती, कमला र कन्काई जलाधारमा हल्कादेखि मध्यम वर्षा जारी रहने र विगत तीन दिनको वर्षाका कारण नदीहरूको जलसतह उच्चतम बिन्दुमा पुग्ने अनुमान छ। तथापि, प्रमुख नदीहरूमा सतर्कता तह नै पार हुने सम्भावना भने न्यून रहेको महाशाखाले स्पष्ट पारेको छ।त्यसैगरी आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र समग्र जोखिम न्यून रहने प्रक्षेपण गरिएको छ। आगामी कात्तिक १६ र १७ गते भने देशभरका प्रमुख नदीहरूमा जलसतह क्रमशः सामान्य अवस्थामा फर्किने छ।वर्षाको वास्तविक मात्रा र नदीको अवस्था अनुसार जोखिम परिवर्तन हुन सक्ने औँल्याउँदै महाशाखाले उच्च हिमाली भेगमा थप सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको असरले कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोजन्य जोखिमको सम्भावना रहेको छ। यसका साथै शुक्रबार र शनिबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम उच्च रहने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन महाशाखाले सचेत गराएको छ।हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का वर्षा तथा लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाँउमा हल्का वर्षा भइरहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया