पोखरा एक्सप्रेस ,काठमाडौं।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ‘वर्ल्ड इकोनोमिक आउटलुक (अक्टोबर २०२६)’ सार्वजनिक गर्दै सन् २०२६ अन्त्यसम्ममा विश्व अर्थतन्त्रको आकार १२ सय ८० खर्ब अमेरिकी डलर माथि पुग्ने प्रक्षेपण गरेको छ।
प्रक्षेपणमा विश्वको कुल आर्थिक उत्पादनमा अमेरिका र चीनले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। विश्व अर्थतन्त्रको आकार सन् २०२३ को तुलनामा करिब २०० खर्ब डलरले बढी रहेको आईएमएफले जनाएको छ।
अमेरिका, चीन, जर्मनी र जापान गरी शीर्ष चार मुलुकको मात्रै विश्व अर्थतन्त्रमा करिब ५० प्रतिशत योगदान रहेको छ।आईएमएफको तथ्यांकले विश्वभरका देशबीचको आर्थिक खाडल फराकिलो रहेको देखाउँछ। अमेरिकाको अर्थतन्त्र एक्लै ३२० खर्ब डलरभन्दा माथि छ भने विश्वका दर्जनौं देशको वार्षिक जीडीपी १०० अर्ब डलरभन्दा पनि कम छ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा अमेरिका ३२६.४ खर्ब डलरसहित शीर्ष स्थानमा छ भने उसले विश्वको कुल जीडीपीको करिब एक चौथाइ हिस्सा ओगट्छ। दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २१५.५ खर्ब डलर पुगेको छ। अमेरिकी अर्थतन्त्र जर्मनी, जापान, बेलायत, भारत र फ्रान्सको संयुक्त आर्थिक उत्पादनभन्दा पनि ठूलो छ।
जर्मनी ५४.७ खर्ब डलरसहित तेस्रो, जापान ४३.४ खर्ब डलरसहित चौथो र बेलायत ४२.७ खर्ब डलरसहित पाँचौं स्थानमा छन्। भारत ४०.६ खर्ब डलरसहित विश्वको छैटौं ठूलो अर्थतन्त्र बनेको छ। त्यस्तै फ्रान्स ३५.५ खर्ब, रुस २८.६ खर्ब, इटली २७ खर्ब र ब्राजिल २६.५ खर्बसहित शीर्ष १० भित्र पर्न सफल भएका छन्।
शीर्ष २० भित्र पर्ने अन्य मुलुकमा क्यानडा, दक्षिण कोरिया, मेक्सिको, अस्ट्रेलिया, स्पेन, टर्किए, इन्डोनेसिया, नेदरल्यान्ड्स, साउदी अरब र स्वीटजरल्यान्ड रहेका छन्।
४५.५९ अर्ब डलरको जीडीपीका साथ नेपाल यो सूचीमा १०३औं स्थानमा छ।
तपाईको प्रतिक्रिया