चाडपर्बमा यातायात र बजार अनुगमन प्रभाबकारी बनाउन आग्रह, हप्ताको दुइदिने बिदाको प्राबधान हटाउन जिसस कास्कीको नेपाल सरकारलाई अनुरोध
- Pokhara Express
- २०८३ असोज ३० शुक्रबार
पोखरा,३० असोज
जिल्ला समन्वय समिति कास्कीले चाडपर्बको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई प्रभाबकारी बनाउन कास्कीको प्रशासन सहित स्थानीय तहहरूलाई आग्रह गरेको छ । समितिको शुक्रबार सम्पन्न ५३ औ बैठकले निर्णय गरे मुताबिक सो आग्रह गरेको हो ।
बैठकले कास्की जिल्लाका यातायात व्यवसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने गरेको गुनासो आएकोले सो हुन नदिन अनुगमनकारी निकाय थप सक्रिय बन्न अनुरोध गरेको प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।प्रमुख पौडेलका अनुसार चाडपर्व समयमा मूल्यबृद्धी बढ्दै गएको, मिसावट बढ्दै व्यापक जनगुनासो आएकोले बजार अनुगमन सहित ,महंगी नियन्त्रण गर्न समेत स्थानीय प्रशासन, स्थानीय तह, नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । त्यसै गरेर बैठकले मालबाहक सबारी साधनको पर्याप्त पार्किङ नभएको गुनासो आएकोले उपयुक्त सार्वजनिक ठाउँहरूमा मालबाहक सबारी साधनको पार्किङको व्यवस्था मिलाउन सम्बन्धीत स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
जिल्ला समन्वय समिति कास्कीले नेपाल सरकारले हालै गरेको निर्णय बमोजिम साताको दुई दिन सार्वजनिक विदा शैक्षिक क्यालेन्डर बमोजिम तोकिएको पाठ्यभार समयमै व्यवस्थित रुपमा अध्ययन गर्न गराउन असुविधा भएकोले दुई दिनको विदा पुनरावलोकन गर्न नेपाल सरकारलाइ अनुरोध समेत गरेको छ।विगतमा साविक उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमती लिई क्याम्पसहरूले दस जोड दुइ कक्षा संचालन गरेको विषयमा कानुन सम्मत नभएको भन्दै विद्यार्थीको IEMIS standard number नहुने भएकोले बिध्यार्थिहरूको भबिष्य सुनिस्चित गर्ने गरी क्याम्पसहरुमा १० जोड दुइ कक्षा संचालन हटाई अन्यत्र व्यवस्था गर्न नेपाल सरकारलाई जिसस कास्कीले अनुरोध गरेको छ ।
मानव अधिकार सम्बन्धी छैटौ राष्ट्रिय कार्ययोजनाको प्रभाबकारी कार्यान्वयनका लागि बैठकले जिसस पदाधीकारीहरुलाई विषयगत क्षेत्रको थप जिम्मेवारी दिएर कार्य क्षेत्र अझ स्पस्ट पारेको जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गर्नुभयो । बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योजना मुताबिक गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका कार्यान्वयन गर्ने गराउने कार्यमा पदाधिकारी आ-आफ्नो स्थानीय तहमा वितरण कार्यान्वयनको अवस्थाको प्रगती विवरण लिई आवश्यक सहयोग समन्वय सहजीकरण गर्ने निर्णय गरिएको छ ।
जिससको ५३ औ बैठकले पोखरा महानगरपालिका वडा न २८ स्थित कालिका इङ्लीस वोर्डीङ स्कुल कालिका स्थानको बिद्यार्थी बोकेको बस ओखलेको भिरमा दुर्घटना भै सवार मध्ये ४ जना वालवालिका र १ जना अभिभावक गरी छ जनाको घटनास्थलमा मृत्यु भएकोमा ज्यान गुमाउनेहरू प्रति श्रद्धान्जली र घाइते वालवालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उचित निशुल्क उपचारको लागि व्यवस्था गर्न सम्बन्धीत निकायहरु तथा नेपाल सरकारसँग अनुरोध गरेको छ ।त्यसै गरेर जिसस कास्कीको सो बैठकले रसुवा, नुवाकोट जिल्ला अन्तर्गत भोटेकोशी नदी तथा गोरखा चुमनुग्रीको बुढीगण्डकी नदीमा आएको बाढी पहिरो तथा डुवानको कारण मृत्यु भएकाहरूप्रति श्रदान्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
तपाईको प्रतिक्रिया