बैंक तथा ईसेवा सेवाको कर्मचारी बनेर ५० लाख ठगी गर्ने तीन जना पक्राउ
- Pokhara Express
- २०८३ असोज २७ मङ्गलबार
पोखरा एक्सप्रेस ,रौतहट।
प्रहरीले अनलाइनमार्फत विभिन्न बैंक तथा ई–सेवाको कर्मचारी बनेर सेवाग्राहीबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। ‘केवाईसी अपडेट’ गरिदिने बहानामा सेवाग्राहीको गोप्य बैंकिङ विवरण हात पारी ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा–५ स्थित कोइरी टोलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी बैरगनिया घर भई हाल गौर–३ मा डेरा गरी बस्दै आएका २४ वर्षीय मो साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी तथा गौर–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले आफूलाई विभिन्न बैंक तथा डिजिटल वालेट ई–सेवाका आधिकारिक कर्मचारी भएको बताउँदै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गर्दथे। त्यसपछि केवाईसी अपडेट गर्न प्राविधिक सहयोग गर्ने बहाना बनाएर उनीहरूले पीडितलाई मोबाइलको ‘स्क्रिन सेयर’ गर्न लगाउने र त्यसमार्फत आउने वान टाइम पासवर्ड (ओटीपी)लगायतका संवेदनशील बैंकिङ विवरण प्राप्त गर्ने गरेका थिए।
गोप्य विवरण हात पारेलगत्तै उनीहरूले सेवाग्राहीको बैंक तथा वालेट खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको छ। हालसम्म उनीहरूले विभिन्न व्यक्तिलाई प्रलोभन र भ्रममा पारी कुल ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरिसकेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ठूलो परिमाणमा नगद, चेक तथा विद्युतीय सामग्री बरामद गरेको छ। पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१०, भारतीय रुपैयाँ ३ हजार २३६, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड तथा विभिन्न बैंकका ३० थान डिपोजिट भौचर फेला परेका छन्।
त्यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँ उल्लेख गरिएका दुई थान चेकका साथै विभिन्न बैंकका चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड र सर्वसाधारणका बैंकिङ विवरण टिपिएका पर्चासमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न तीनै जनालाई हिरासतमा राखी ठगी तथा संगठित अपराधसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया