बंगालको खाडीको न्यून चापीय प्रणालीको असर : पाल्पा र कपिलवस्तु आसपास १६४ मिलिमिटर वर्षा
- Pokhara Express
- २०८३ असोज ८ बिहीबार
पोखरा एक्सप्रेस ,काठमाडौँ ।
बंगालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ। भारतको आन्ध्र प्रदेश र ओडिसा आसपासबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण विशेषगरी नेपालको पूर्वी र मध्य भागमा मौसम प्रभावित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् देवेन्द्र ढकालका अनुसार बिहीबार काठमाडौँ उपत्यकासहित देशका पूर्वी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ।
यस अवधिमा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। त्यहाँ १६४ मिलिमिटरसम्म वर्षा भएको विभागले जनाएको छ। अन्य प्रदेशका तुलनामा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मात्र भारी वर्षा भएको छ।
बिहीबार दिउँसो र रातिको समयमा लुम्बिनीदेखि पूर्वी भूभागका अधिकांश (५० देखि ८० प्रतिशत) स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिएका छन्। यसैगरी तराईका भूभागमा सामान्यभन्दा केही ठुलो हावाहुरी चल्ने अनुमान गरिएको छ।
शुक्रबार वर्षाको गतिविधि अझै बढ्नेछ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद् ढकालले भने, ‘यी स्थानमा भारी हिमपातको सम्भावना रहेकाले तत्काल प्रतिकार्य गर्नुपर्ने अवस्था छ ।’
शुक्रबार विशेषगरी कर्णाली प्रदेशदेखि पूर्वका भूभागमा वर्षा केन्द्रित हुनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा गण्डकी र लुम्बिनीका तराईदेखि पहाडसम्मका क्षेत्रमा भारी वर्षाको जोखिम रहेकोले सतर्क रहन सुन्तला रङको चेतावनी जारी गरिएको छ।
शनिबारदेखि भने वर्षा गराउने प्रणाली बिस्तारै पश्चिमतिर सर्नेछ। शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले त्यहाँ ‘रेड अलर्ट’ जारी गरिएको छ। आइतबार बागमती र गण्डकीदेखि पूर्वका भूभागमा मौसम सुधार हुँदै जाने तर पश्चिममा भने सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।
देशैभरि एकैपटक लगातार झरी पर्ने सम्भावना नभए पनि भारी वर्षाका कारण सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। मौसम छिनछिनमा परिवर्तन हुने भएकाले मौसम पूर्वानुमान महाशाखाको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत अद्यावधिक सूचना लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
तपाईको प्रतिक्रिया