चार दिन बाढी पहिरोको जोखिम- अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह
- Pokhara Express
- २०८३ असोज ७ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौँ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै महासङ्घले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन गर्नु पूर्व बाटो र मौसमको अवस्थाबारे अनिवार्य रूपमा जानकारी लिन मातहतका निकायलाई निर्देशन दिइएको छ ।
कुनै पनि रुटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासङ्घले आफ्ना सदस्य सङ्घ, समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको छ । साथै, जोखिम भएका राजमार्ग र सडकहरूमा सम्भावित अवरोध पन्छाउन डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।विपद्को पूर्व सूचनाअनुसार जोखिमयुक्त स्थानमा रहेका व्यक्ति तथा परिवारलाई प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा सार्न र आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती एवं पहिरोको जोखिमयुक्त स्थानका बासिन्दाहरूलाई विशेष चनाखो रहन महासङ्घले आग्रह गरेको छ । यसका साथै, सम्बन्धित सबै सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र तिन वटै सुरक्षा निकायले आम सर्वसाधारणलाई सुसूचित गर्दै प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने कुरामा सूचनामार्फत जोड दिइएको छ ।
महासङ्घले विपद्को समयमा आवश्यक जानकारी र मद्दतका लागि विभिन्न हटलाइन नम्बरहरू सार्वजनिक गर्दै त्यसमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षा र बाढीबारे अद्यावधिक जानकारी लिन ११५५ र विपद्मा मद्दत माग्न ११४९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
त्यसैगरी, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा समेत सम्पर्क गरी तत्काल सहयोग लिन सकिने जनाइएको छ । सम्भावित जोखिमबाट बच्न नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने पूर्वानुमान र चेतावनीसम्बन्धी जानकारी निरन्तर लिइरहन पनि महासङ्घले सबैमा अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया