पोखरा एक्सप्रेस ,कास्की ।
लगातारको वर्षाका कारण पटकपटक पहिरो खसेर अवरुद्ध हुँदै आएको पोखराको काहुँखोला–सिक्लेस सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।
सो सडकखण्डको मादी गाउँपालिका–१ मा पर्ने चिप्ली र खिलाङबीचमा दुई दिनअघि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा कास्कीको ग्रामीण पर्यटनको केन्द्र सिक्लेसको पोखरासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको थियो ।मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले पहिराले पटकपटक स्थानीयलाई दुःख दिएकाले सो सडकखण्डमा तम्तयारी अवस्थामा ‘ब्याकलोड’ केही दिनसम्म राख्ने व्यवस्था मिलाइएको बताए ।
“यस सडकमा तीनपटक पहिरो खसेर हामीलाई दुःख दियो । पुनः पहिरोका कारण सडक अवरुद्ध भए तत्काल अपरेटर परिचालन गरी पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने व्यवस्था गरेका छौँ”, वडाध्यक्ष गुरुङले भने ।अवरुद्ध सडक सञ्चालन तथा पहिरो व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय पोखरा, मादी नदी सरोकार समिति, मादी गाउँपालिका तथा स्थानीयवासीले सहयोग गरेका थिए । यस क्षेत्रमा अझै वर्षा भइरहेकाले सडक खुले पनि यात्राका क्रममा उच्च सतर्कता अपनाउन तथा पहिराको जोखिम भएका स्थानमा अनावश्यक रूपमा नरोकिन र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।
पहिरोले पर्यटकीय गाउँ सिक्लेससँगको सम्पर्क टुट्दा आन्तरिक पर्यटक प्रभावित बनेका थिए । विदेशी पर्यटक नभए पनि बिदाका समयमा सिक्लेसमा आन्तरिक पर्यटक भने भरिभराउ हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया