पोखरा एक्सप्रेस ,पोखरा
यस वर्षको कैलाश यात्रा साथै भदौ १४ गते पुलचोकस्थित ‘द प्लाजा’ मा आयोजना हुन लागेको ‘मिस्टिक आई’ (Mystic Eye) कार्यक्रमका लागि गत श्रावण २७ गते सद्गुरु काठमाडौँ आइपुग्नुभएको छ ।
नेपालमा पहिलो पटक सद्गुरुसँग ‘मिस्टिक आई’ कार्यक्रम आयोजना हुन लागेको हो । ‘मिस्टिक आई’ एक रहस्यदर्शीसँग जीवनका रहस्यमयी आयामहरूलाई गहिराईमा खोज र अनुभव गर्ने पृथक् कार्यक्रम हो, जसमा सहभागीहरूले जीवनका गहन प्रश्नहरूलाई गहिराईमा नियाल्ने, सद्गुरुसँग ध्यान अनुभव गर्ने अनि भित्री खुसियालीका लागी साधनहरू सिक्ने विशेष अवसर प्राप्त गर्नुहुनेछ । १५ वर्ष माथिका जोकोहीले कार्यक्रमको लागि रजिष्टर गरी सहभागी हुन सक्नुहुनेछ । सो कार्यक्रममा लाइभ नेपाली अनुवाद समेत रहनेछ । कार्यक्रमबारे थप जानकारीका लागि बसुन्धारास्थित लिङ्ग भैरवी देवी मन्दिरमा समेत सम्पर्क गर्न सकिनेछ ।
हरेक वर्ष झैँ, कैलाश मानसरोवरको यात्रा सुरू गर्न यस पटक विश्वभरिबाट १७०० भन्दा बढी सहभागीहरूसहित सद्गुरु नेपाल आउनुभएको हो । केही दिन नेपालका विशेष स्थानहरू भ्रमण गरी, गत वर्ष झैँ, यस वर्ष पनि सद्गुरुले कैलाश पर्वतसम्मको आफ्नो यात्रा मोटरसाइकलमा नै सुरू गर्ने तयारी गर्नुभएको छ ।
सद्गुरु एक योगी, रहस्यदर्शी र आत्मज्ञानी गुरु हुनुहुन्छ । योग र अध्यात्ममा मात्र नभई पर्यावरण, शिक्षा, स्वास्थ्य, ग्रामीण जीवन उत्थान लगायतका क्षेत्रहरूमा आफ्नो ईशा फाउन्डेसन संस्थामार्फत सद्गुरुले विगत ४० वर्षदेखि अवरत योगदान पुऱ्याइरहनुभएको छ । उहाँका सम्पूर्ण कार्य र प्रयासको एउटै उद्देश्य भनेको मानव चेतनालाई माथि उठाउनु रहेको छ ।
तपाईको प्रतिक्रिया