मनोहरि पौडेलद्वारा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा
- Pokhara Express
- २०८३ श्रावाण २९ शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा मनोहरि पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा सदस्य पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गर्दै पौडेलले आफू निर्वाचित भए संघको संस्थागत सुदृढीकरण, उद्योगी,व्यवसायीको हकहितको संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
व्यवसायिक क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुइन्स कलेक्सनका सञ्चालक हुन्। उनी हाल बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्षका रूपमा कार्यरत छन्।
सामाजिक तथा धार्मिक क्षेत्रमा पनि उनको सक्रिय भूमिका रहेको छ। पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति, पोखरा २८का अध्यक्ष, शितल ज्योति युवा क्लब, पोखरा१२का सल्लाहकार तथा सुर्केमैदान सिर्जनशील क्लब, पोखरा २८का संस्थापक अध्यक्ष पोखरा उधोग वाणिज्य संघका विभिन वस्तुगत समितिहरूमा प्रेस सल्लाहकार रूपमा समेत रहेका छन् । त्यसैगरी, पत्रकारिता क्षेत्रमा पनि उनको सक्रिय सहभागिता रहेको छ। उनी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य तथा नेपालय नेटवर्क डटकमका कार्यकारी सम्पादक समेत हुन्।
हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य (मनोनीत)रहेका पौडेलले संघभित्र विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका छन् । विशेषगरी, संघद्वारा आयोजित औद्योगिक व्यापार मेलामा प्रचार–प्रसार संयोजकको भूमिका निर्वाह गर्दै मेलाको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान दिएका थिए। उक्त जिम्मेवारी उनले सफलतापूर्वक सम्पन्न गरेको संघका व्यवसायीहरूले बताउने गरेका छन्।
पौडेलले संघमा आर्जन गरेको अनुभव, व्यवसायिक नेतृत्व, सामाजिक सक्रियता तथा संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित खुल्ला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्। निर्वाचित भए उद्योगी–व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
व्यवसाय, सामाजिक सेवा, धार्मिक तथा सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई संघको संस्थागत विकास, उद्योगी,व्यवसायीका साझा मुद्दाको प्रभावकारी पैरवी र निजी क्षेत्रको सशक्तीकरणमा उपयोग गर्ने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको पौडेलले बताएका छन्।
तपाईको प्रतिक्रिया