पोखरा एक्सप्रेस ,काठमाडौँ ।
काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्ने पुरुषले आत्मदाह प्रयास गरेका छन् ।सोमबार आत्मदाह गर्न खोज्ने जीवन अधिकारीलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनी नयाँ बजारस्थित सडक पेटीमा तरकारी बेच्दै आएका थिए । नगरपालिकाले कार्यालय समयमा सड्कमा व्यापार गर्न रोक लगाउँदै साँझ ६ बजेबाट मात्र फुटपाथमा व्यापार गर्न दिने गरेको छ । तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले आत्मदाह प्रयास गरेका बुझिएको छ । शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजे पनि प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेको छ । पीडित पुरुषलाई आफन्तको जिम्मा लगाइएको एसपी भट्टराईले जानकारी दिए । नगर प्रहरीले सड्क पेटी क्लियर गर्दा आफ्नो व्यापारमा घाटा लागेको भन्दै प्रहरीसँग उनले गुनासो गरेका छन् । यसअघि आजै शीतल निवासअगाडि पनि एक जनाले शरीर पेट्रोल खन्याउने कोसिस गरेका थिए । प्रहरी बेलैमा आएर २७ वर्षीय विशाल तामाङ नाम गरेका उनलाई उद्धार गरेको थियो ।
तपाईको प्रतिक्रिया