२७ लाखमध्ये साढे १३ लाख स्मार्ट लाइसेन्स वितरण, साढे १३ लाख यातायात कार्यालयमै थन्किए
- Pokhara Express
- २०८३ श्रावाण ५ मङ्गलबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले वर्षौंदेखि थाती रहेका २७ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सम्पन्न गरे पनि सेवाग्राहीले समयमै लिन नजाँदा देशभरका यातायात कार्यालयमा आधाभन्दा बढी लाइसेन्स थन्किएका छन्। छापिएकामध्ये साढे १३ लाख लाइसेन्स यातायात कार्यालयमै थन्किएका हुन्।
सरकारले पछिल्ला चार महिनामा २७ लाख स्मार्ट लाइसेन्स छापेर यातायात व्यवस्था विभागमार्फत सम्बन्धित कार्यालयमा पठाएको छ। तर, विभागका अनुसार हालसम्म करिब १३ लाख ५० हजार सेवाग्राहीले मात्र आफ्नो लाइसेन्स बुझेका छन् भने बाँकी करिब आधा अझै वितरण हुन बाँकी छ।
विभागले लाइसेन्स लिन आउनेको संख्या अपेक्षाभन्दा कम हुनुका पछाडि विभिन्न कारण रहेको जनाएको छ। पछिल्लो समय नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था लागू भएको, ट्राफिक प्रहरीले चेकजाँचका क्रममा एपमै लाइसेन्स विवरण हेर्न सक्ने सुविधा सुरु भएको तथा लामो समयसम्म लाइसेन्स नपाउने अवस्थाले सेवाग्राहीमा तत्काल कार्यालय पुगेर कार्ड लिनुपर्ने दबाब कम हुँदा सेवाग्राहीले चासो नदेखाएको हुन सक्छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विगतदेखि रहँदै आएको स्मार्ट लाइसेन्स छपाइको सबै ‘ब्याकलग’ अन्त्य भएको जनाएको छ। अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घन्टाभित्रै लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा आएको मन्त्रालयले बताएको छ।
सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच दुई चरणमा भएको सम्झौताअनुसार २७ लाख स्मार्ट लाइसेन्स छापिएको छ। पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो सम्झौता गरी थप १५ लाख लाइसेन्स छाप्ने काम सुरु गरिएको थियो, जुन असार ३२ गते सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण विभागबाट दैनिक रूपमा प्राप्त हुने गरेको छ। सोही आधारमा सुरक्षण मुद्रण केन्द्रले दैनिक करिब तीन हजारदेखि पाँच हजारसम्म स्मार्ट लाइसेन्स २४ घन्टाभित्रै छापेर विभागलाई हस्तान्तरण गर्दै आएको मन्त्रालयको भनाइ छ।
तपाईको प्रतिक्रिया