पोखरा एक्सप्रेस ,गण्डकी ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले गत असारमा ४८ पुरुष र १८ महिला गरी ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रतिवादीबाट ११ वर्ष ११ महिना दुई दिन कैद र रु दुई करोड ३९ लाख ७२ हजार ९९५ बिगो रकम असुलउपर भएको उनको भनाइ छ ।
चेक अनादर, सार्वजनिक अनादर, अंश मानाचामाल, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारसम्बन्धी कसुरलगायतमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।विभिन्न अपराधसँग सम्बन्धित २४५ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका ११, आर्थिक अपराधका ८५ र अन्य अपराधसँग सम्बन्धित १२१ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ ।
तपाईको प्रतिक्रिया