गण्डकी बहुप्राविधिक शिक्षालयमा दुई दिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- Pokhara Express
- २०८३ जेठ ३० शनिवार
पोखरा एक्सप्रेस ,पोखरा ।
शिक्षा, सीप, अनुशासन र सकारात्मक सोचको समन्वयमार्फत गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराले दुई दिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले जेष्ठ २८ गते शिक्षक तथा कर्मचारीहरूका लागि र जेष्ठ २९ गते नवप्रवेशी तथा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चर्चित उत्प्रेरक प्रशिक्षक रमण भट्टराईले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई जीवन, शिक्षा, नेतृत्व, आत्मविश्वास, लक्ष्य निर्धारण, समय व्यवस्थापन र व्यक्तित्व विकासका विविध पक्षबारे प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले सफलताको यात्रा कुनै संयोग नभई निरन्तर अभ्यास, सही सोच, स्पष्ट लक्ष्य र दृढ संकल्पको परिणाम हुने बताउँदै सहभागीहरूलाई आफ्नो क्षमतामाथि विश्वास गर्न आग्रह गर्नुभयो । जेष्ठ २८ गते आयोजित शिक्षक तथा कर्मचारी उत्प्रेरणा कार्यक्रममा शिक्षण पेशाको गरिमा, शिक्षकको जिम्मेवारी, विद्यार्थीको भविष्य निर्माणमा शिक्षकको भूमिका, संस्थागत संस्कार तथा कार्यप्रति समर्पणका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी शिक्षकहरूले बदलिँदो शैक्षिक परिवेशमा आफूलाई निरन्तर अद्यावधिक गर्दै विद्यार्थीमैत्री शिक्षण पद्धतिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
त्यसैगरी, जेष्ठ २९ गते सम्पन्न विद्यार्थी अभिमुखीकरण कार्यक्रममा अध्ययनसँगै जीवन व्यवस्थापन, करियर निर्माण, अनुशासन, नैतिकता, आत्मसम्मान र सकारात्मक दृष्टिकोणका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आफ्नो सपना पहिचान गर्दै त्यसलाई यथार्थमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहन प्रेरित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक डा. टेकनारायण पौडेलले शिक्षाको वास्तविक अर्थ मानिसभित्र रहेको सम्भावनालाई उजागर गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो- “कुनै पनि विद्यार्थी असफल भएर जन्मिएको हुँदैन । उसभित्र एउटा अदृश्य शक्ति, एउटा सपना र एउटा उज्यालो भविष्य लुकेको हुन्छ। शिक्षण संस्थाको दायित्व त्यो सम्भावनालाई चिन्ने, जगाउने र सही दिशामा डोर्याउने हो । आजका यी विद्यार्थीहरू भोलिका इन्जिनियर, प्राविधिक, उद्यमी, अनुसन्धानकर्ता र समाजका मार्गदर्शक बन्नेछन् । त्यसैले उनीहरूको मनमा आशा, आत्मविश्वास र जिम्मेवारीको दीप प्रज्वलित गर्नु हाम्रो साझा कर्तव्य हो । उहाँले शिक्षकहरूलाई सम्बोधन गर्दै ज्ञान हस्तान्तरणभन्दा ठूलो कार्य विद्यार्थीको जीवनमा प्रेरणा रोप्नु भएको उल्लेख गर्नुभयो । “विद्यार्थीले वर्षौँपछि पढाइएका पाठहरू बिर्सिन सक्छन तर शिक्षकले दिएको सम्मान, हौसला र प्रेरणा जीवनभर सम्झिरहन्छ” भन्दै उहाँले शिक्षकहरूलाई परिवर्तनका संवाहकका रूपमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
निर्देशक डा. पौडेलले गण्डकी बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षालाई रोजगारी, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढिरहेको उल्लेख गर्दै दक्ष, सिर्जनशील र नैतिक जनशक्ति उत्पादन संस्थाको मूल लक्ष्य रहेको बताउनुभयो। उहाँले शिक्षा मानिसको भाग्य परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली माध्यम भएकाले विद्यार्थीहरूले आफ्नो समय, ऊर्जा र क्षमतालाई सही दिशामा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रशिक्षण अवधिभर अन्तरक्रियात्मक छलफल, प्रेरणादायी अनुभव आदानप्रदान तथा जीवन उपयोगी सन्देशहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले कार्यक्रमले आफ्नो सोचमा सकारात्मक परिवर्तन ल्याएको, लक्ष्यप्रति थप स्पष्टता दिएको र अध्ययन तथा पेशागत जीवनप्रति नयाँ ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिएका थिए । गण्डकी बहुप्राविधिक शिक्षालयले आगामी दिनहरूमा पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यक्तित्व निर्माण र शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राखेर यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयमा, पोखरा महानगरपालिका र प्राविधिकशिक्षा तथा व्यवसायिक तालिम परिषदको साझेदारीमा संचालित “सीप, संस्कार र सफलताको यात्रामा प्रतिबद्ध संस्था”।
तपाईको प्रतिक्रिया