पोखरा एक्सप्रेस ,पोखरा ।
शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेका छन् । उनले मान्छेको उठिबास लगाउने गरी बन्यजन्तुको संरक्षण गर्न नसकिने बताएका छन् ।
बाँदर,बँदेल,दुम्सी जस्ता जनावरले बाली खाएर किसानलाई उठिबास लगाएका विषय संसदमा सम्म चर्को रुपमा उठिरहेका बेला पोखरेलले सामाजिक सञ्जाल मार्फत अन्तराष्ट्रिय अभिसन्धी र कानुनको बहाना देखाएर किसानलाई थातथलो खेतिपातीबाट बेदखल गर्ने काम न्यायोचित नभएको स्पष्ट पारेका छन् ।
प्रकृति र मानवबीच सन्तुलन आवश्यक हुने तर मान्छेको उठिबास लाउने सन्तुलन प्रभावी नहुने बताएका छन् । ‘बाँदर,बँदेल र दुम्सीको आतंकले कृषिकर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्’ पोखरेलले लेखेका छन् ‘प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ तर मान्छेकै उठिबास लाग्ने गरी होइन ।’
संरक्षण क्षेत्र भित्र नै सबै प्रकारका पशुपंक्षीको संरक्षण गर्नुपर्ने उनको धारणा छ । यसका लागि संरक्षण क्षेत्र बिस्तार गर्न सकिने उनको राय छ । पोखरेलले बन्यजन्तुबाट बाली जोगाउन कृषि क्षेत्रका लागि फरक नीति आवश्यक रहेको उल्लेख गरेका छन् । बन्यजन्तु आतंकका कारण कृषि उत्पादन र किसानलाई संरक्षण गर्न उनले आहवन गरेका छन् । ‘कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति र कानुन निर्माण गरौं’ पोखरेलले लेखेका छन् ‘अब त निकै ढिला भइसक्यो ।’
तपाईको प्रतिक्रिया