पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला, उत्साहित व्यवसायी
- Pokhara Express
- २०८३ जेठ २९ शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि आगामी असोज ७ गते (सेप्टेम्बर २३, २०२६) देखि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने खबरले पर्यटन तथा व्यवसायिक क्षेत्र उत्साहित बनेको छ ।
दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको जनाएको छ । यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो ।
विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएसँगै पोखरा र गण्डकी प्रदेशका पर्यटन तथा व्यावसायिक क्षेत्रमा नयाँ आशा जागेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभयो । उहाँले यो केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवद्र्धन, लगानी आकर्षण तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको उहाँको भनाइ छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा थियो,” प्रमुख आचार्यले भन्नुभयो, “दुबई उडानको सुरुआतसँगै पोखरा विश्वका विभिन्न गन्तव्यसँग प्रत्यक्ष रूपमा जोडिने आधार तयार भएको छ ।”
उहाँले पोखरा–दुबई प्रत्यक्ष उडानका लागि बुकिङ खुला हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्ने यस अभियानमा योगदान पु¥याउने सम्पूर्ण सरोकारवाला निकाय र व्यक्तिहरूप्रति आभार व्यक्त गर्नुभयो ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूतसँग पर्यटन आदान–प्रदान तथा पोखरा–यूएई सिधा हवाई उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गर्नुभयो । “यूएईसम्म नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ,” उहाँले भन्नुभयो, “विशेष गरी दुबईजस्तो अन्तर्राष्ट्रिय ट्रान्जिट हबसँग पोखरा सिधै जोडिनु गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ ।”
पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले दशकौँसम्म ठूलो त्याग, संघर्ष र धैर्यता प्रदर्शन गरेको स्मरण गर्दै विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय उडानका लागि पर्यटन क्षेत्रले निरन्तर पहल गर्दै आएको बताउनुभयो । “विमानस्थल निर्माणको सपना साकार पार्न जसरी सम्पूर्ण पोखरेली एकजुट भएका थिए, त्यसैगरी यसको सफल सञ्चालनका लागि पनि सबैले आफ्नो ठाउँबाट योगदान गरिरहेका छन्,”
उहाँले पर्यटन क्षेत्रको दिगो विकास र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि यस्ता पहललाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार दुबई अन्तर्राष्ट्रिय ट्रान्जिट केन्द्र भएकाले युरोप, अमेरिका तथा अन्य मुलुकबाट आउने पर्यटकका लागि पोखराको पहुँच थप सहज हुनेछ ।“यो उडानले पर्यटक आगमन वृद्धि गर्नुका साथै गण्डकी प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताउनुभयो ।
“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा लामो समयदेखि भइरहेको थियो,” उहाँले भन्नुभयो, “दुबई उडानको सुरुआतसँगै पोखराको पर्यटन उद्योगले नयाँ गति लिने विश्वास गरेका छौँ । यसले विदेशी पर्यटक आगमन बढाउनुका साथै स्थानीय पर्यटन, होटल, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्नेछ ।”न्यौपानेले भन्नुभयो “पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो,अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुलेको छ ।”
सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ । फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुहरूले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया