जिसस कास्कीद्वारा रुग्ण र अधुरा आयोजनालाइ प्राथमिकता दिन सरकारलाई आग्रह
- Pokhara Express
- २०८३ बैशाख २२ मङ्गलबार
पोखरा , बैशाख २२
जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बहुबर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक बर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
समितिको मंगलबार सम्पन्न ४८ औ बैठकले उक्त निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । पौडेलले विभिन्न कारणले बिगतका सरकारका बार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुइ दर्जन आयोजनाका लागि रकम बिनियोजन गरेर निर्माणमा अबरोधक कारणको पहिचान सहित यथाशिघ्र निर्माण सम्पन्न हुने गरेर अगाडी बढाउँन सिफारिस गर्ने निर्णय गरिएको छ ।
पर्याप्त रकम अभाबका कारण समयमा सम्पन्न हुन् नसकेका ,निर्माण कम्पनीको लापरबाही तथा अन्य कारणको पहिचान सहित नेपाल सरकारलाइ सिफारिस गरिएको प्रमुख पौडेलको भनाइ छ । यसरी निर्माण तिब्रता गर्न सिफारिस गरिएका आयोजनाहरूमा पस्चिमान्चल क्षेत्रीय अस्पतालको भवन निर्माण आयोजना ,प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्माण योजना ,सराङकोट स्वास्थ्य चौकी भवन ,भगरा कृषि सडक मोटरबाटो निर्माणका योजना रहेका छन्।
त्यसैगरी पूल सेक्टर पोखरा कार्यालय मातहत संचालित आयोजनाहरू मध्ये आर्थिक बर्ष २०७४-७५ को सेती नदि माथिको बगर र फूलबारी जोड्ने पूल,पोखरा ३० र ३३ जोड्ने मुसेटूडा पावर हाउसको पूल निर्माणमा ढिला सुस्तिका कारण सहित शहरी बिकास मन्त्रालयलाई लेखि पठाइएको छ ।
पोखरा २१ र १७ जोड्ने दम्सादी पूल, पोखरा १३ र २८ जोड्ने कसेरिमा निर्माणाधीन बिजयापूर खोला पूल ,कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्बतको मोदी गाउँपालिका जोड्ने भुरुङदी पूल, पोखरा २५ र १९ जोड्ने जिर्ण सेती दोबिल्ला घाटको पूल, पोखरा ४ र ५ जोड्ने फिर्के खोला पूल सहितका आयोजनाको काम तत्काल अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।मुग्लिंङ पोखरा सडक सतारोंनतीको बाकि काम सहित सेती नदीमाथिको पूल आयोजनाको कार्य र मध्य पाहाडी लोकमार्गको कास्की खण्डको बाँकी काम, सोहि राजमार्गको लमजुङ र कास्कीको सिमानामा ट्रयाक खोलेर कार्य अगाडी बढाउँन भनिएको छ।
यसैगरी पोखरामा नियमित अन्तराष्ट्रीय हवाई उडान संचालन गर्न महेन्द्रनगर र नेपालगंजबाट पोखरालाइ जोड्ने गरेर हवाई मार्गको पहुच बिस्तार गर्न आबश्यक कुटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया