पोखरा एक्सप्रेस ,पोखरा ।
यस वर्षको ‘सिनेमा संवाद’ कार्यक्रम कास्कीको पर्यटकीय गाउँ ल्वाङमा हुने भएको छ।
माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङ गाउँमा यही २५ र २६ वैशाखमा उक्त कार्यक्रमको तयारी गरिएको आयोजक चलचित्र पत्रकार संघ नेपाल कास्कीले जनाएको छ ।
नेपाली सिनेमाको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल हुने ‘सिनेमा संवाद’ कार्यक्रम सफल पार्न सबैको सहयोगको खाँचो रहेको औंल्याइएको छ ।
यसअघि, संघले कास्कीकै अर्को पर्यटकीय क्षेत्र घान्द्रुक र सिक्लेस तथा लमजुङको घलेगाउँमा सिनेमा संवाद गरिसकेको छ।
सन्तोष बस्याल नेतृत्वको पछिल्लो कार्यसमितिले ल्वाङमा सिनेमा संवादका लागि विभिन्न सेसनमा भाग लिने अतिथिसमेत टुंगो लगाएर सार्वजनिक गरिसकेको छ ।
टिभिएसको प्रस्तुति रहेको कार्यक्रमका चार सेसनका विषय ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेज परम्परागत सिनेमा’ छन् ।
संघले हालैमात्र रमाइलो पिकनिक एवं २०८३ सालको क्यालेण्डरसमेत विमोचन कार्यक्रम गरेको थियो।
तपाईको प्रतिक्रिया