पोखरा एक्सप्रेस ,पोखरा ।
सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय विना गुरुङले पहिलोपटक संघीय संसदमा प्रवेश गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. ३ मा प्रतिष्पर्धिलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल हुनुभयो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बन्नुुभएको भने उहाँका निकतम प्रतिष्पर्धि कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो बन्नुुभयो । नेकपा (एमाले) का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बन्नुुभएको छ । वैरागी यस अघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।
संजिवनी दिदी बहिनी केन्द्र नेपालको संस्थापक अध्यक्ष समेत रहनुभएकी गुरुङ महिला दिदिबहीनीहरुको प्रेरणा स्रोत बन्दै आउनु भएको छ । महिला उद्यमशीलता प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोडिनुभएको थियो ।
श्रीमान १ छोरा १ छोरीका साथ पोखरा– ५ निवासी गुरुड २०७२ सालको भुकम्प र कोभिड –१९ महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहनु भएको थियो । विजयपछि कास्की–३ को समग्र विकास, सुशासन र जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता, सहकारी पीडितको समस्या समाधान तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । गुरुङले भन्नुभयो “ म सामाजिक क्षेत्र र उद्यमशिलताको यात्राबाट राजनीतिमा आएको छु, अब राजनीतिको यो नयाँ यात्रालाई पनि आफ्नो इमान्दारीता जनभावना अनुरुप काम गर्नेछु ।” उहाँले जेनजी आन्दोलनको मर्म सहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा आफ्नो भुमिका सशक्त गराउँदै लैजाने बताउनुभयो ।
उहाँको विजयसँगै कास्की–३ मा महिला लगायत सम्पूर्ण मतदाताले आशा व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया